Aamsanchar

लोप हुने अवस्थामा पुग्यो हुलाक सेवा

Author Image
सोमवार, असोज २३, २०७४

[नरेन्द्र ढकाल]

झापा,


सञ्चारको शुरुवात हुलाकवाट भएका तथ्यहरु प्रष्ट रुपमा सुन्न र पढ्न पाइन्छ । कुनै बेला मुग्लान अथवा शहर गएका परिवारका सदस्यहरुले घरमा र घर भएकाहरुले उनिहरुसँग कुरा गर्न हुलाकको नै प्रयोग गर्दथे, हुलाकी अथवा हलकाराहरुको सम्मान गाँउमा वेग्लै हुन्थ्यो । धेरैपरसम्म चिठी र खबर पु¥याउनमा नै धेरै जना हुलाकीहरुले आफ्नो जीवनकाल विताएका छन् ।
अग्रजहरुका अनुसार गाँउघरमा राती वस्दा हुलाकीहरुलाई विशेष ग्राहयता दिइन्थ्यो । अनि उनिहरु त्यतिवेलाको समयका रेडियो, टिभी, इन्टरनेट भनेको उनिहरुनै थिए । रातबिरात पत्र पु¥याउन गाँउगाँउमा ‘हलकारा’ अर्थात हुलाकीहरु पत्रको झोलासहित हिँड्ने गर्दथे । तर हिजोआज हुलाकमा कार्यरत कर्मचारी फुर्सदमा बसिरहेका देखिन्छन् । सबैको हात हातमा मोबाइल, इन्टरनेट जस्ता प्रविधिको विकास भएसँंगै हुलाक मार्फत चिठीपत्र आउन छाडेको छ ।
देशपरदेशका चिठ्ठीपत्र आदानप्रदान गर्नका लागि लोकप्रिय हुलाक अहिले भने सरकारी कामकाजमा मात्र सीमित हुन थालेको छ । चिठ्ठीपत्र बोकेर घर घरमा पुग्नुपर्ने बाध्यता अहिले हटिसकेको झापाका जिल्ला हुलाक अधिकृत दामोदर घिमिरेले बताए । झापामा रहेका १५ स्थानीय तहमा नै हुलाक सेवा भएपनि प्रभावकारीता नहुदाँ हुलाक कार्यालय निकम्बा झैं बनेको छ ।
विगतमा चिठि पत्र बोक्ने काम हुने गरेको र सेवा ग्राहीको चाप हुने गरेपनि हाल त्यस्तो चाप हुन छाडेको नासु रामहरि खतिवडाले बताए । सूचना प्रविधिका क्षेत्रमा भएको परिवर्तनसँगै हुलाकलाई परिवर्तन गर्न नसक्दा प्रभावकारी काम गर्न नसकिएको अधिकृत घिमिरेको भनाई छ ।
झापामा एउटा जिल्ला हुलाक, १७ वटा इलाका हुलाक र ३७ वटा अतिरिक्त हुलाक कार्यलय रहेको छ । झापामा तीन सय कर्मचारीको दरबन्दी रहेको बताइएको छ । हुलाक मार्फत चिठ्ठीपत्र आदानप्रदान हुन छाडेपछि कर्मचारीलाई लोकसेवा आयोगले लिने नासु र खरिदारको परीक्षा दस्तुर र टिकट बिक्री गर्ने काम मात्र भएको तथा विदेशबाट सामान पठाउने तथा अन्य सामान्य कामहरु मात्र हुने गरेको बताइएको छ ।
सरकारी क्षेत्रको एक मात्र सूचना आदानप्रदान गर्ने माध्यमलाई सरकारले आधुनिकीकरण गर्न नसक्दा हुलाक इतिहासमा मात्र समेटिने चिन्ता पनि बढ्दै गएको छ । यसैबीच सोमबार विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा हुलाकलाई लिइन्छ । विश्वभरका मानिसहरुबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा सञ्चारको आवश्यकता महसुस गर्दै सामाजिक आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले विश्व हुलाक संघको सन् १८७४ अक्टोवर ९ मा स्थापना भएको हो । नेपालले भने उक्त संघको सन् १९५६ मा सदस्यता लिएको थियो ।

सदस्यता लिएकै वर्षदेखि नेपालमा पनि हुलाक दिवस मनाउन थालिएको हो । तर यसपटक भने सरकारले नै हुलाक दिवसलाई बेवास्ता गरेको पाइएको छ । केन्द्रबाट कुनैपनि जानकारी नआएकाले समान्य रुपमा कार्यालयमा नै हुलाक दिवस मनाएको जिल्ला हुलाक कार्यालय झापाका प्रमुख अधिकृत घिमिरेले जानकारी दिए । उनले यस वर्षको नारा के रहेको थियो भन्ने समेत थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

 

नेपालमा करिब ४ हजार हुलाक सेवा कार्यालय छन् । ६० जिल्लामा कार्यालय छ । इलाका साढे ८सय जति छ । क्षेत्रीय पाँच, अतिरिक्त हुलाक ३ हजार ७४ छ भने २० हजार कर्मचारी कार्यरत छन् । नियमित गर्नुपर्ने कामबाहेक अहिले हुलाकले स्थानीय केवल टिभी अनुगमन, लोक कल्याणकारी विज्ञापन सिफारिस तथा लोकसेवाको फारम दर्ता गरी पठाउने काम गर्दै आएको छ । त्यस्तै स्थानीय एफ.एम रेडियोहरुको नवीकरण तथा रोयल्टी समेत बुझने काम हुलाक कार्यालयमा नै हुने गरेको नासु खतिवडाले जानकारी दिए ।

हुलाकमार्फत चिठी आदानप्रदान गर्नेको संख्या बर्षेनी क्रमशः घट्दै गएको छ । टेलिफोन र इन्टरनेटको विकाससँगै हुलाकमार्फत चिठी पठाउनेको संख्या पनि घटेको हो । सरकारले हात–हातमा मोबाइल र घर–घरमा इन्टरनेटको अवधारण विकास गरेर सञ्चार क्षेत्रमा लगानी र कामलाई तिब्रता दिएपनि सञ्चार क्षेत्रकै जगको रुपमा रहेको हुलाकलाई भने बेवास्ता गरेको पाइएको छ ।
झापाका सबै स्थानीय तहमा हुलाक भएकाले यसको संरक्षण तथा यसलाई प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा सबै सरोकारबाला निकायले गहल छलफल गर्न जरुरी रहेको छ । हुलाकलाई समय अनुसार परिर्वतन नगर्ने हो भने यो लोप भएर जाने अवस्थामा पुग्न सक्ने अधिकृत घिमिरेको भनाई छ ।

Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर