बिर्तामोड।

दुई छोराछोरी आफ्नो नियन्त्रणमा रहेको बताउँदै तिनका आमासँग एसएमएसमार्फत पाँच लाख रुपैयाँ माग गर्ने एक व्यक्तिलाई बिर्तामोडका डीएसपी राजकुमार सिलवालले कारवाही गर्न आनाकानी गरेका छन् ।
हल्ला गरे जे पनि गर्न सक्ने धम्की दिने ती व्यक्तिलाई डीएसपी सिलवालले उन्मुक्ति दिन लागेको बुझिएको छ । डीएसपी सिलवालले उक्त घटनाका दोषीविरुद्ध कारवाहीका लागि पीडित पक्षले दिएको किटानी जाहेरी लिन इन्कार गर्दै मिल्न दवाब दिएका छन् । घटना असोज १२ गते अष्टमीका दिनको हो ।
घटना विवरण अनुसार अष्टमीका दिन बिर्तामोड नगरपालिका–२ चैतुवारीका धनश्याम पौडेल(पुरोहित) सोही ठाउँ निवासी टेकनाथ न्यौपानेको छोरीको विवाह गराउन गएका थिए । सो क्रममा उनले न्यौपानेका घरमा मोवाइल चार्जमा राखेका थिए ।
चार्जमा रहेको मोवाइलबाट ९८१५९३०९३३ नम्वरको सिम चोरी भएको थियो । चोरिएको सिम कार्डबाट १३ गते नवमीका दिन दिउँसो १ः४१ बजे बिमला सिलवालको ९८१७०७८०१४ नम्बरको मोवाइलमा पाँच लाख रुपैयाँ माग्दै धम्कीपूर्ण एसएमएस आयो । एसएमएस आएपछि सिलवाल परिवार त्रसित बन्यो ।
उता चार्जमा राखेको मोवाइलबाट सिम हराएपछि पौडेल समेत चिन्तित बनेका थिए । धम्कीपूर्ण एसएमएस आएपछि बिमलाको परिवारले प्रहरीलाई जानकारी गराएको थियो । प्रहरीले सो क्रममा सिम धनी पौडेललाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानपछि उनले सो सिम प्रयोग गरेर त्यस प्रकारको एसएमएस नपठाएको खुलेको थियो ।
बिर्तामोड–२का दिवस दाहाल सो कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले उनलाई अहिले नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा रहेका दाहालबिरुद्ध उजुरी गर्न पुगेका विमला सिलवालका अभिभावकको जाहेरी डीएसपी सिलवालले नलिएको उनका श्रीमान् बेनुप्रसाद सिलवालले बताए । उनले पूर्वाञ्चलसँग भने– घटनामा सम्लग्न भएको स्वयम् दिवसले स्वीकारी रहेको छ, यस्तो अवस्थामा पनि डीएसपी सिलवाल जाहेरी लिन मान्दैनन् ।’
पटक–पटक जाहेरी लिन आग्रह गरेपनि डीएसपी सिलवालले जाहेरी नलिएपछि आफूहरु बाध्य भएर घर फर्किएको उनले बताए । उनले भने– ‘श्रीमतीलाई धम्कीपूर्ण शब्द प्रयोग गरेर पठाएको एसएमएससहित जाहेरी गर्न जाँदा पनि प्रमाण भएन भन्दै डिएसपीले यो घटना सामान्य हो, मिल्न उपयुक्त हुन्छ, तपाइँहरु मिल्नुहोस् भन्दै उल्टै हामीलाई मिल्न दवाव दिए ।’
यता डिएसपी सिलवालले उक्त घटना सामान्य भएको बताएका छन् । उनले एसएमएस मात्र यथेष्ट प्रमाण होइन, प्रमाणसहित आए २४ घण्टाभित्र कारवाही गर्न आफू तयार रहेको बताएका छन् ।
धाकधम्की दिँदै यसप्रकारको आपराधिक गतिविधिमा सम्लग्नलाई मानव अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन सकिने कानून व्यवसायीको भनाइ छ ।
तर, डीएसपी सिलवालले यसअघि पनि अर्जुनधारा–११का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्यामा संलग्न भएको अभियोगमा परेको किटानी जाहेरी लिन मानेका थिएनन् । स्थानीय र मृतकका आफन्तको चर्काे दवावपछि मात्र पोखरेल परिवारबिरुद्ध परेको किटानी जाहेरी इलाका प्रहरी कार्यालय बिर्तामोडले दर्ता गरेको थियो ।

