Aamsanchar

सन्थाल नाच लोप हुँदै

Author Image
बुधवार, असोज २५, २०७४

बिर्तामोड।

सन्थाल नाच बिनाको दशैं कस्तो हुन्छ भनेर मेला भर्नेहरुलाई सोध्दा सबैको जवाफ एउटै थियो– दशैं मेला खल्लो हुन्छ । मेला भर्न आउने सबैका लागि सन्थाल नाच मुख्य आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।

 

सबैलाई रमाइलो लाग्ने सन्थाल नाच बिस्तारै हराउँदै गएको छ । लोप हँुदै गएका सन्थाल जातिको संरक्षण गर्न नसक्दा सिंगो जातिसँगै उनीहरुको मौलिक संस्कृति पनि हराउँदै गएको हो । बिगतमा झापाको फूलवारी मेलामा ८–१० बटा सन्थाल टोली आउने गरेको थियो । तर, यसबर्ष ४ वटा टोलीले मात्र नृत्य प्रस्तुत गरे । गरामनी र चैतुवारी मेलामा पनि पहिला जस्तो सन्थाल नाच जमेको पाइएन ।
उहिले दशंैको एक हप्ता अगाडिदेखि नै सन्थालहरु गाउँगाउँमा नाच्दै हिँड्थे । उनीहरुको नृत्यले दशैं आएको आभास हुन्थ्यो । बिदूषक (जोकर)को भेषमा टीन ठटाउँदै नाच्ने त्यस गाईजात्रे नृत्यलाई सन्थाल भाषामा बुवाङ एनेच र दशंै मेलामा नाचिने सामुहिक नृत्यलाई दशंै एनेच भन्ने गरिन्छ । जातीय पोशाकमा घुंगुरु लगाएर तुम्बा (मादल), तामाक(दमाहा), ब्राम्ह (ड्रम) र कर्ताल(झ्याली)को धुनमा उनीहरुले समूह–समूहमा नृत्य प्रस्तुत गर्ने गर्छन् ।

‘चिकालेगी गुरुहोम पेण्डलिजारे हारेहारे, चिकालेगी गुरुहोम नाख्रालिजारे हुरहुर पेरपेर’ भन्दै प्रस्तुत गरिने त्यस परम्परागत नृत्यले जो कोहीको मन लोभ्याउँछ । पौराणिक कालमा दुर्गा भगवतीले दानव राजा महिषासुरलाई बध गरेको समयदेखि दशैं नाचको उत्पति भएको भनाइ छ । महिषासुरको सन्तान मानिने सन्थालहरु आफ्ना राजाको बधपछि काम्दाकाम्दै दुर्गा भगवती सामु आत्मसमर्पण गरेको सन्थाल अगुवाहरु बताउँछन् ।

तर, केहीले आफूहरु महिषासुरको सन्तान नभएको दावी गर्दै दुष्ट प्रवृत्तिका महिषासुरको अन्त्यपछि सन्थालहरुले नाच्दै खुशियाली मनाएको तर्क गरेका छन् । त्यसबारेमा सन्थालहरुको कुनै लिखित ग्रन्थ भने भेटिएको छैन ।
दशैं आउनुभन्दा अगाडिदेखि नै गाउँगाउँ टोलटोलमा गुञ्जिने सन्थाल धुन अहिले मेलाभित्र सीमित भएको छ । सन्थाल नाच सबैलाई चाहिने तर सन्थाल जाति नचाहिने विडम्बनाका कारण समग्र जातिसँगै आफूहरुको संस्कार संस्कृति हराउँदै गएको नेपाल सन्थाल विकास संघ झापाका अध्यक्ष बडाराम हेम्रम बताउँछन् । जातीय अस्तित्व र पहिचान हराउन लाग्दा समेत सन्थाल जातिको बारेमा कसैले चासो नलिएको उनको गुनासो छ ।
त्यसो त सन्थाल नाचको जगेर्नाका लागि थोरबहुत सहयोगको क्रम शुरु भएको छ । बिर्तामोड नगरपालिकाले दशैंअघि सन्थालहरुलाई बाजा किन्न ४५ हजार रुपैयाँ सहयोग गरेको थियो ।
त्यसैगरी मेला आयोजक कमिटीहरुले पनि प्रोत्साहनस्वरुप सन्थाल टोलीहरुलाई नगद पुरस्कारको ब्यबस्था मिलाएका थिए । चैतुवारी मेलामा मेला कमिटीले पहिले, दोस्रो र तेस्रो हुने टोलीलाई क्रमशः १३ हजार ५ सय, ९ हजार ५ सय र ७ हजार ५ सय रुपैयाँको व्यवस्था मिलाएको थियो । गरामनी र फूलवारी मेलामा पनि उत्कष्ट टोलीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । २०–३० जनाको टोलीलाई १०–१५ हजारले खाजा खान मात्र पुग्छ– बडारामले भने– त्यसले संस्कृति जगेर्नामा के सहयोग पुग्नु ?
दशंै मेलामा नृत्य टोली लिएर आएका न्यू नमूना सन्थाल क्लब अर्जुनधाराका मझिहाडम (नाईके) हरि सोरेनले आफ्नै खर्चमा करिब एक लाख रुपैयाँमा बाजागाजा र पोशाक किनेको बताए । आफूहरुलाई कसैले पनि सहयोग नगरेको उनको गुनासो थियो ।
त्यस्तै नेपाल सन्थाल विकास संघ नगर इकाई कमिटी बिर्तामोडका मझिहाडम बिजय मुर्मूले आफ्नै गोजीबाट टोलीका सदस्यहरुलाई गाडीभाडा र चियानास्ता खर्च तिर्नुपरेको समस्या सुनाए । मेला कमिटीहरुले दिने पुरस्कार बाहेक अरु केही नपाएको उनको भनाइ छ ।
सन्थाल नृत्यका लागि जियोड झार्ना जीवन क्लब राजगढ प्रख्यात मानिन्छ । तर, त्यस नृत्य टोलीको आकर्षण पनि घट्दै गएको छ । पहिलाको ८०–९० जनाको टोली अहिले ५१ जनामा झरेको छ । कोही बिदेश गए, कोही घर व्यवहारले गर्दा नाच्न आएनन्– क्लबका मझिहाडम जीवन हेम्रमले भने ।
झापामा करिब ३० हजारको हाराहारीमा रहेका अधिकांश सन्थालहरु भूमिहीन छन् । यकिन तथ्यांक नभएपनि चार प्रतिशत सन्थालहरुको मात्र आफ्नो घरभिटा रहेको अनुमान गरिएको छ । अर्काको जग्गामा बसेर जनमजदुरी गर्ने अधिकांश सन्थालहरुको जीवनयापन कष्टपूर्ण रहेको छ । दशैं नृत्यका लागि दुई साता अघिदेखि नै अभ्यास गर्नुपर्ने हुन्छ । मझिहाडम जीवन भन्छन्– काम नगरी गुजारा नहुने भएपछि नाचको लागि समय दिन भ्याउँदैनन् ।
चैतुवारी मेलामा सन्थाल नाचको फोटो खिच्न व्यस्त रहेका बडाध्यक्ष नगेन्द्र संग्रौलाका अनुसार सन्थालहरुको आर्थिक अवस्था सुदृढ गरी राज्यले उनीहरुको संस्कार संस्कृतिलाई सम्बर्धन गर्नुपर्छ । राज्यको सेवा सुविधाबाट बञ्चित सन्थालहरुलाई पलायन हुनबाट रोक्न तत्काल ठोस् कदम चाल्नुपर्ने उनको सुझाव छ । बेलैमा ध्यान नदिए आदिकालदेखि बसोबासरत् भूमिपुत्र सन्थाल जाति र उनीहरुको सांस्कृतिक सम्पदा पुरै लोप हुन सक्नेमा नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोडका कोषाध्यक्ष अर्जुन भुजेलको चिन्ता छ ।

Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर