Aamsanchar

पीडितलाई न्याय दिन प्रहरीको ढिलासुस्ती

Author Image
बिहिवार, असोज २६, २०७४

बिर्तामोड ।

झापाको अर्जुनधारा नगरपालिका–११का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु भएको आज १२ दिन भएको छ ।
बिजयादशमीको टीकाका जुत्ता लिन हिँडेका उनी १५ गते मृत फेला परेका थिए । शंकास्पद अबस्थामा बिर्तामोड नगरपालिका–१स्थित वैशावाडी नजिकैको भौडीमा उनको शव शंकास्पद अवस्थामा भेटिएपछि शिवाकोटी परिवारले बिर्तामोडका सुधिर पोखरेलको परिवारलाई बालक हत्यामा संलग्न भएको भन्दै किटानी जाहेरी दिएको छ ।

मृतक बालक फुपूका १२ वर्षीय छोरा मनिष थापाको जुत्ता लिन टीकाको दिन बिहानै घरवाट निस्किएका थिए । उनलाई मनिषका वुवाले पोखरेलको माध्यम बनाएर बिदेशबाट जुत्ता पठाएका थिए । मनिषको जुत्ता लिन हिँडेका लक्ष्मण जीवित घर फर्किएनन् उनी १५ गते बैशावाडी नजिकैको भौडीमा मृत फेला परे ।
उनको मृत्यु भएको १२ दिन बित्दा पनि उनको हत्या हो या आत्महत्या हो भन्ने विषयमा प्रहरीले केही सार्वजनिक गर्न सकेको छैन । बालकका परिवारसहित समाजका अगुवाले लक्ष्मणको हत्या हो भनिरहेका बेला प्रहरीले यतिका दिन बितिसक्दा पनि उनको हत्या हो या डुबेर मृत्यु भएको हो सार्वजनिक गर्न सकेको छैन । गाउँलेको चर्काे दवावपछि अनुसन्धानमा पोखरेल परिवारका तीन जनालाई नियन्त्रणमा लिएर कारवाही अघि बढाएको प्रहरीले डायटम, टक्सोकोलोजीको रिपोर्ट नआउञ्जेल केही भन्न नसकिने जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी राजकुमार सिलवालले केशलाई स्पेशल रुपमा हेरेको जनाएपनि उनीविरुद्ध सर्वसाधारणले प्रश्न उठाएका छन् । उनी अक्षम रहेको बताउँदै सर्वसाधारणले उनीबिरुद्ध सडक संघर्ष गरे पनि डीएसपी सिलवालले घटनाका विषयमा केही बोलेका छैनन् ।
श्रोतका अनुसार बालकको भवितव्यका कारण मृत्यु भएको अनुसन्धानका क्रममा प्रहरीले रिपोर्ट तयार पारेको बताइन्छ । तर, बालकको मृत्यु डुवेर नभई मारेर भौडीमा फालेको बालकका आफन्त, नगरप्रमुख र सर्वसाधारणले दावी गर्दै आएका छन् ।
शरीरका विभिन्न भागको अंगभंग भएको अवस्थाको शव फेला पर्दा समेत प्रहरीले घटना तोडमोड गर्न खोजेको स्थानीयको आरोप छ । डीएसपी सिलवालले घटनाको विषयमा किटानी जाहेरी लिन नमानेपछि प्रहरीको काम कारवाही प्रति सर्वसाधारण रुष्ट छन् । उनीहरुले डिएसपी सिलवालबिरुद्ध सडक संघर्ष गर्दै आक्रोश समेत पोखेका छन् ।
बालकको हत्या कि आत्महत्या ?

जनसाधारणको एउटै उत्तर छ, लक्ष्मणलाई हत्या गरेरै कर्तुत लुकाउन भौडीमा फालिएको हो । बालकको मृत्यु भएको १२ दिन बितिसक्दा पनि प्रहरीले अनुसन्धान नसक्नु आफैंमा शंकास्पद भएको सरोकारवालाहरुको एउटै भनाइ छ । बालकको हत्याको विषयमा प्रहरी चुकेको छ, प्रहरीले अझै बालक हत्याको विषयमा सर्वसाधारणलाई भ्रममा राखेको स्थानीयको आरोप छ ।
अनुसन्धानका क्रममा यो घटनामा मात्रै प्रहरी चुकेको छैन यसअघि कप्तानवाडीमा सम्साँझै एक महिलामाथि भएको बलात्कारको घटनामा समेत प्रहरी सत्यतथ्य बाहिर ल्याउन नसकेर चुकेको स्थानीय अगुवाहरुले बताएका छन् । साउन ४ गते बुधवारसाँझ चियाको बोटमा सलले हात खुट्टा बाँधेर एक महिलामाथि जवरजस्ती करणी भएको थियो । वेहोस अवस्थामा भेटिएकी ती महिलालाई सर्वसाधारणको सहयोगमा प्रहरीले उद्धार गरी मेची अञ्चल अस्पतालमा पुर्याएर औषधि उपचार गराएपनि घटनामा सम्लग्न अझै पत्ता लाग्न सकेका छैनन् । प्रहरीले अनुसन्धानलाई सूक्ष्म रुपमा अध्ययन गरेको बताए पनि पीडित महिलाले अझै न्याय पाउन सकिरहेकी छैनन् ।
बालक मृत्यु प्रकरणको विषयको अनुसन्धान कति दिनमा सकिएला भन्ने पूर्वाञ्चलको प्रश्नमा डीएसपी सिलवाल भन्छन्– बालकको मृत्युको विषयमा भेरिफाई गर्न अझैं ८–१० दिन लाग्न सक्छ, टेक्निकल कुरा भन्न मिल्दैन दुवै पक्षबाट आएको वयान मिलाएर हामी घटना के भएको हो पछि सार्वजनिक गर्छौं ।
सामाजिक सञ्जाल फेसवुकमार्फत आफूलाई ज्यान मार्ने धम्की दिएको उजुरी गरेको महिना दिन बित्न लाग्दा समेत प्रहरीले धम्क्याउनेलाई पक्राउ नगरेको बाह्रदशी गाउँपालिकाकी एक युवतीले बताएकी छिन् । शुरुमा केही दिनमा त्यसलाई पक्रन्छौं भन्दै प्रहरीले झुलायो पछि ऊ फरार भएछ भन्दै पन्छियो ती युवतीले भनिन्– मलाई धम्क्याउने कहाँ बस्छ, उसले कति नम्वरको मोवाइल बोकेको छ, घर कहाँ हो सवै लोकेशन दिँदा पनि प्रहरीले उसलाई पक्राउ नगर्नुबाटै प्रष्ट हुन्छ कि प्रहरी सर्वसाधारणको जीउ धनको सुरक्षा गर्न बसेको होइन ।
सामाजिक सञ्जालमार्फत धम्क्याउने विषय हेर्ने निकाय नै अलग्गै हुन्छ तर मेरो हकमा त्यस्तो छैन म कुनै घटनाकी पीडित हुँ, मलाई सामाजिक सञ्जाल मार्फत ज्यान मार्ने धम्की दिँदा पनि प्रहरी मौन छ– ती युवतीले भनिन् – तपार्इँलाई केही भए हामीलाई खवर गर्नु भन्ने प्रहरी अहिले उल्टै आनाकानी गर्छ ।

Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर