Aamsanchar

चोरीका घटनामा संलग्न गिरोह अझै सक्रिय

Author Image
शुक्रवार, असोज २७, २०७४

[पार्थ मण्डल]
भद्रपुर।

झापाको सीमावर्ती बजार क्षेत्रमा चोरीका घटनामा संलग्न गिरोह अझै सक्रिय रहेको पाइएको छ । भद्रपुर र भारतको गलगलिया आसपास बस्ने गिरोहमा आवद्ध केही युवाहरु अझै फरार रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।
चोरी घटनामा संलग्न दुई जना भारतीय युवकलाई चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । भारतको किसनगञ्ज जिल्लास्थित भातगाउँ ग्राम पश्चायत (गलगलिया) निवासी २२ बर्षीय मोहम्मद सद्धाम र २३ बर्षीय सञ्जित सहनी पक्राउ परेको हो । असोज १९ गते भद्रपुर–६ भानुनगरस्थित कमला उपाध्यायको घरबाट सुन, चाँदी र नगद चोरी गरी भाग्दै गरेको अवस्थामा वडा प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गरेको हो । दुई जना चोर प्रहरी फन्दामा परेपछि उनीहरुले गिरोहमा आवद्ध केही युवाहरुको नाम बयानमा दिएका छन् ।

प्रहरीले उनीहरुको बयानको आधारमा चोरी घटनामा संलग्न भद्रपुरका एक युवकलाई पनि पक्राउ गरेको छ । भद्रपुर–३ स्थित आँपगाछी बस्ने २२ बर्षीय पूर्ण विश्वकर्मा भन्ने कान्छालाई पक्राउ गरेको हो । दुई जना साथी पक्राउ परेपछि गलगलियामा गएर लुकेर बसेका विश्वकर्मालाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
पक्राउ परेका विश्वकर्मालाई गलगलिया प्रहरी थानाबाट लिएर आएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ । प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ । उनीहरुको गिरोहमा अरु पनि केही युवक संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरी कार्यालय झापाका डीएसपी जीतेन्द्र बस्नेतले जानकारी दिए ।

उनीहरुमाथि सोधपुछ जारी छ, प्रहरीलाई दिएको नामको आधारमा युवकहरुको खोजी कार्य भइरहेको डीएसपी बस्नेतले बताए । सीमावर्ती क्षेत्रमा हुने गरेको श्रृंखलावद्ध चोरीका सरसामानहरु उनीहरुले भारतको ठाकुरगञ्जमा लगेर बेच्ने गरेको अनुसन्धानबाट खुलिसकेको उनले बताए । पक्राउ परेका तीनै जनालाई चोरी सम्बन्धी मुद्दा दर्ता भइसकेको प्रहरी कार्यालयका एसपी विष्णुकुमार केसीले बताए । चोरीको गिरोहमा संलग्न व्यक्तिहरुको खोजी दुवै देशका प्रहरीले गरिरहेको एसपी केसीले बताए ।
भारतमा रहेका युवकलाई पक्राउ गर्न भारतीय प्रहरीसंग पनि सहकार्य भइरहेको उनको भनाई छ । महिना दिनअघि भद्रपुर–६ नेपाल बैंक अगाडि वृजकिशोर गुप्ताको घरबाट साढे तीन लाख बढीको धनमाल चोरी भएको थियो । गुप्ताको घरबाट ६ तोला सुन, २ किलोचाँदीका गरगहना, एउटा एलइडीटीभी र नगद ५ हजार चोरी भएको थियो ।
त्यस्तै सोही दिन राति भानुनगरमा एकैपटक चार वटा घरमा चोरी भएको थियो । त्यसैगरी केही दिन अघि भद्रपुरमा दिउँसै एउटा मोटरसाइकलबीच बजारबाटै चोरी भएको थियो । भद्रपुर– ५ निवासी पुण्यप्रसाद रिजालको मे५प ३२६३ नम्बरको होण्डा कम्पनीको कालो रंग साइन मोटरसाइकल चोरी भएको थियो । त्यसअघि हस्पिटल चोकमा एकैपटक चार पसलमा चोरी भएको थियो । क्याम्पसमोडमा दुई घरमा लाखौ चोरी भएको विगतको घटना छ ।
सोही क्षेत्रमा झ्यालबाट मोवाइल, पर्स चोरी हुने गरेपछि स्थानीय त्रसिद बनेका थिए । बजार क्षेत्रका मन्दिरमा भगवानका मूर्ति तथा गरगहना पनि चोरी भएको थियो ।

Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर