Aamsanchar

तिहारमा विद्युतीय सामग्रीको आयात बढ्यो

Author Image
सोमवार, असोज ३०, २०७४

(नरेन्द्र ढकाल)

बिर्तामोड।

झिलिमिली र बिजुली बत्तीको चाडपर्वको रुपमा मनाइने तिहार नजिकिएसँगै बिजुलीका सामग्रीको कारोबार बढेको छ । तिहार आउन एकसाता मात्र बाँकी रहेको समयमा भन्सार छलेर बिजुलीमा सामान खुलेआम रुपमा नेपाल भित्रिँदा समेत सम्बन्धित निकाय मौन छ ।
पछिल्लो समय बिद्युतीय सामग्रीमा आउने क्रम बढ्सँगै प्रहरीले चेकजाँचमा कडाई गरेको जनाएको छ । तर, हालसम्म विद्युतीय सामग्री बरामद नभएपनि पटकाजन्य विस्फोटक पदार्थ भने बरामद हुने क्रम बढेको सशस्त्र प्रहरी भन्सार गुल्म काँकरभिट्टाका सशस्त्र प्रहरी नायव उपरीक्षक दीपेन्द्र गिरीले बताए । आइतबार मात्रै सशस्त्र प्रहरीले ६ पोका पटक बरामद गरेको डीएसपी गिरीले बताए । सोमबारदेखि चेकजाँचलाई अझ कडाई गरिने उनको भनाइ छ । विद्युतीय सामन भन्सार छलेर भित्रने गरेको सूचना आफूहरुले समेत पाएको डीएसपी गिरीले जानकारी दिए ।
झापाका सबै स्थानमा चेकजाँच गरिरहेको सशस्त्र प्रहरी कार्यालय झापाका प्रमुख एसपी रमेश सुवेदीले बताए । उनले भने– हामीले चाडपर्वलाई मध्यनजर गरेर सुरक्षा ब्यवस्था मिलाएका छौं, हामीसँग एउटा मोबाइल गस्ती टोली तयारी अवस्थामा रहेको छ ।
यता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णुप्रसाद केसीले पटका लगायत बिस्फोटक पदार्थ नभित्रिएको दाबी गरेका छन् । उनले प्रहरीले सुरक्षा व्यवस्था कडा गरेका कारण पटकाजन्य सामान नभित्रिएको दावी गरे ।

एसपी केसीले बिस्फोटक पदार्थ नभित्रिएको दाबी गरे पनि व्यवसायीले खुलम्खुल्ला पटकाजन्य सामग्री भित्रिइरहेका छन् । झापाबाट भित्रिएको पटका लगायतका विस्फोटक सामग्री काठमाडौंसम्म पुग्ने गरेको स्रोतको दावी छ । प्रहरीको मिलेमतोमा भित्रिएको सामग्रीको चितवन हुँदै काठमाडौंसम्म जाने गरेको र एक महिना अघिदेखि पटकाजन्य सामग्रीको कारोबार हुँदै आएको प्रहरी स्रोतकै दावी छ ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बजारमा खुलेआम रुपमा पटका विक्री–बिरण तथा पड्काउने काम हँुदा समेत प्रहरी रमिते बनेको बताए । उनले तिहार नजिकिएसँगै विद्युतीय सामग्रीको कारोबार बढेको जनाएका छन् । मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोडबाट मात्रै तिहारको अवधिमा ३०÷४० करोडको कारोबार हुने गरेको बताए । उनले भन्सार छली गरेर सामन नभित्रिएको र व्यवसायीहरुले भन्सार तिरेरै सामन ल्याउने गरेको बताएका छन् । उनले घरायसी प्रयोजनका लागि ल्याउँदा भन्सार नतिरेको हुन सक्ने बताएका छन् ।
यता विर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्कीले तिहार भन्ने बित्तिकै झिलिमिलीको पर्व भएकाले विद्युतीय सामानको कारोबार बढेको बताए । उनले विद्युती सामनमा भन्सारमा छुट दिनुपर्ने बिचार व्यक्त गरेका छन् । राज्यले भन्सार छुट नदिँदा उपभोक्ताहरु भारतीय बजार पानीट्याङ्की लगायतका बजारमा सामान खरिदका लागि जाने गरेको र नेपालीको अर्थतन्त्र भारततर्फ पलायन भइरहेको बताए । उनले चाडपर्वलाई भड्किलो तरिकाले नमनाउन सबैसँग आग्रह गरेका छन् ।

विद्युत् धेरै खपत गर्दा ट्रान्सर्फमार पड्किन सक्ने भएकाले सबैले विद्युत् खपतलाई कम गर्नुपर्नेमा उनको जोड छ । उता मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख टेकबहादुर अर्यालले चाडपर्वमा विद्युतीय सामन आयत बढेको बताएका छन् । कति सामन आयत भयो भन्ने विवरण तत्काल दिन नसक्ने बताए । आफू केही दिन अघि मात्रै काँकरभिट्टाको जिम्मेवारी सम्हाल्न आएको र यो विषयमा केही थाह नभएकाले विस्तृत विवरण तत्काल दिन नसक्ने बताएका छन् । उनले सो विषयमा बुझ्न छत्रपति कँडेलसँग आग्रह गरे ।
प्रहरी र भन्सार कर्मचारीले विद्युतीय सामग्री भन्सार छलेर नआएको बताए पनि पोके व्यपारीले दैनिक रुपमा भन्सार छली गरेर भित्र्याइरहेको स्रोतले जानकारी दिएको छ । प्रहरीले चेकजाँचमा कडाइ गरेको उल्लेख गरे पनि प्रहरीसँगै मिलेमतोमा भन्सार छलीका सामनहरु भित्र्ने गरेको बताइएको छ ।
यता ब्यवसायीले तिहारमा विद्युतीय सामग्रीको व्यापार बढेको बताए पनि उनीहरुले संस्कृतिको संरक्षण गर्दै माटोका सामाग्रीहरु लोप हुने क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष भट्टराईले तिहारमा माटोका सामग्रीहरुको प्रयोग घटेको भन्दै संस्कृतिको संरक्षण गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।

Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर