Aamsanchar

जथाभावी पार्किङले सदरमुकाम अस्तव्यस्त

Author Image
मङ्गलवार, असोज ३१, २०७४

भद्रपुर।

झापाको सदरमुकाम भद्रपुरमा सवारीसाधन पार्किङको व्यवस्थापन नहुँदा सरकारी कार्यालय आसपासका क्षेत्र अस्तव्यस्त बन्दै गरेको छ ।
भद्रपुर नगरपालिका क्षेत्रभित्र रहेका दर्जन भन्दा बढी सरकारी कार्यालयमा आउने सेवाग्राहीले जथाभावी सवारीसाधन राख्न थालेपछि कार्यालय आसपासका सडक अस्तव्यस्त बन्दै गएका हुन् ।
कार्यालयमा आउने सेवाग्राहीले आफ्ना सवारीसाधन जिल्ला समन्वय समिति झापा, शिक्षा, सिञ्चाई, अदालतको गेट खुल्ला भएकोले सोझै कार्यालय परिसरभित्र राख्न सक्छन् । तर, मालपोत, वन, प्रशासन, आन्तरिक राजश्व, भूमिसुधार, निर्वाचन लगायतका कार्यालयको गेट बन्द हुने गरेकाले सेवाग्राहीलाई पार्किङ गर्न समस्या परेको छ । पार्किङ निषेधित क्षेत्र तोकिएको यी सरकारी कार्यालय अगाडि दुवतर्फ सडकमै पार्किङ गर्नुपर्ने समस्या छ ।

मालपोत, प्रशासन र राजश्वमा आउने ठूला व्यवसायीको गेटमा बसेका पालेसँग चिनजान भएकाले कार्यालय प्रवेश गर्न दिने तर साना सेवाग्राहीलाई भित्र पार्किङमा निषेध गरिने चलन पनि रहेको एक सेवाग्राहीले बताए । करिब एक वर्ष अघि सवारीसाधन व्यवस्थित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सो क्षेत्रलाई व्यवस्थापन गर्दै आइरहेको थियो । सो क्षेत्रमा ट्राफिक प्रहरी पनि खटाइन्थ्यो । ट्राफिक प्रहरी नराख्नु र उचित व्यवस्थापन नहँुदा सदरमुकाम अस्तव्यस्त बन्न थालेको प्रति कसैले चासो देखाएको छैन ।
नगरपालिकाले जिल्ला हुलाक कार्यालय जाने सडकको छेउमा पार्किङको व्यवस्थापन गरे पनि स्थान अभावले गर्दा जताततै सवारी राख्ने गरेका छन् । नगरपालिकाले पार्किङको ठेक्का समेत लगाएको छ । ठेकेदारका कर्मचारी भने जताततै राखिएका सवारीबाट रकम असुल्न मै व्यस्त देखिन्छन् । नगरपालिकाले यसतर्फ कुनै पहल कदमी गरेको देखिँदैन ।
त्यस्तै चन्द्रगढी बजार र भद्रपुर बजारमा पनि पार्किङ अस्तव्यस्त बन्दै गइरहेको छ । बजारका दिन सो सडकको दुवैतर्फ जथाभावी सवारी पार्किङ गर्नाले आवतजावतमै समस्या उत्पन्न भएको छ । जथाभावी पार्किङ त्यसमाथि सडक मिचेर लगाएको फुटपाथ पसलले सडकनै जाम हुने गरेको प्रति अहिलेसम्म नगरपालिका र बाणिज्य संघले कुनै कदम चालेको छैन ।
सरकारी कार्यालय क्षेत्र अस्तव्यस्त भएको बिषयमा झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भने यसलाई व्यवस्थापन गर्न आवश्यक रहेको बताए । पार्किङ गर्ने बिषयमा प्रशासन कार्यालयले यसअघि एउटा समिति पनि गठन गरिसकेकोले सो समिति र भद्रपुर नगरपालिकासँग समन्वय गरी तत्काल उचित निकास निकाल्ने प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।

Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर