झापा।

पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरी डेंगू रोगको संक्रमणका कारण गम्भीर बिरामी भएपछि थप उपचारका लागि भारत लगिएको छ ।
नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष समेत रहेका गिरी केही दिन अघि बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार गराएर घर फर्किएका थिए । सम्पादक गिरीको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि भारतको शिलगढीस्थित प्रधाननगरमा रहेको नर्थ बंगाल अस्पतालमा आइतबार भर्ना गरिएको छ ।

कम्मर, ढाड खाने, टाउको र आँखाका गेडी दुख्न तथा ज्वरो आउन थालेपछि डेंगूको शंका गर्दै स्वास्थ्य परीक्षणका लागि बिर्तासिटी अस्पताल पुगेका गिरीको स्वास्थ्य रिपोर्टमा डेंगू पोजेटिभ देखिएको थियो ।
स्वास्थ्य परीक्षणका क्रममा गिरीको शरीरमा सेतो रक्तकोशिका (प्लाटलेट)को मात्रा एक लाख ४० हजार थियो । स्वास्थ्य मानिसमा प्लाटलेटको मात्रा एक लाख ५० हजार हुनुपर्ने चिकित्सकले जनाएका छन् । तर, सम्पादक गिरीको शरीरमा प्लाटलेटको मात्रा घट्दै गएपछि थप उपचारका लागि भारतको शिलगढी लगिएको हो ।
उनको शरीरमा प्लाटलेटको मात्रा अहिले ५५ हजार मात्र रहेको पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकालले बताए । सम्पादक गिरीलाई ओ नेगेटिभ ताजा ब्लड आवश्यक परेको तत्काल ब्लड उपलव्ध गराइ सहयोग पु¥याउन व्यवस्थापक ढकालले आग्रह समेत गरेका छन् ।


