Aamsanchar

हतियार भित्रिन नदिन प्रहरीको कडा निगरानी

Author Image
आइतवार, कार्तिक २६, २०७४

नरेन्द्र ढकाल

बिर्तामोड, आगामी मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै झापामा साना हतियार भित्रिन सक्ने भन्दै प्रहरीले निगरानी बढाएको छ ।
भारतसँग खुल्ला सीमा जोडिएकाले झापामा उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । झापाका सम्पूर्ण क्षेत्रमा प्रशासनले कडाइ गरेको बताउँदै उनले सीमावर्ती क्षेत्रबाट साना हतियार भित्रिन सक्ने भएकाले विशेष सतर्कता अपनाइएको बताए । चुनावी माहौल बढेसँगै सबै उम्मेदवार तथा मतदान स्थल, मतदाताको सुरक्षा लगायतको प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।
झापामा २ सय ८३ मतदान स्थल रहेको र त्यसलाई विभिन्न तीन चरणमा वर्गीकरण गरेर सुरक्षा ब्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए । उनका अनुसार झापामा ४९ वटा अतिसंवेदनशील, १ सय ४ संवेदनशील र १ सय ३० स्थल सामान्य गरेर वर्गीकरण गरिएको छ । मदतान स्थलमा प्रहरीले विशेष निगरानी गरिरहेको र सम्पूर्ण सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षाको ब्यवस्था मिलाइएको एसपी केसीले जानकारी दिए ।
भारतीय प्रहरीसँग समेत सहकार्य भइरहेकाले झापामा हरियार भित्रिने सम्भावना कम रहे पनि प्रहरीले सादा पोशाकमा समेत प्रहरी परिचालन गरेको उनले बताए । भारतका सुरक्षा निकायसँग छिट्टै दुई पक्षबीच बैठक गरेर सुरक्षा ब्यवस्थालाई थप मजबुत बनाउने तयारी भइरहेको समेत उनले बताए ।

झापामा साना हतियारको प्रयोग हुनसक्ने भएकाले उम्मेदवारको सुरक्षामा विशेष ध्यान दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्वाचन नजिकिएसँग दलहरुले प्रचार–प्रसारलाई तीब्र बनाइरहेका छन् । प्रतिनिधिसभाका उम्मेदवारले ४ वटा चारपाङ्ग्रे र ४ वटा मोटरसाइकल चुनाव प्रचा–प्रसारका लागि प्रयोग गर्न पाउने ब्यवस्था रहेको छ । त्यस्तै प्रदेशसभाका उम्मेदवारले २ वटा चारपाङ्ग्रे र २ वटा मोटरसाइकल मात्र चुनाव प्रचार–प्रसारका लागि प्रयोग गर्न पाउने कानूनी प्रावधान रहेको जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकृत गोपाल आर्चायले जानकारी दिए । उनका अनुसार उम्मेदवार चुनाव प्रचारका लागि प्रयोग गर्ने सवारीका विषयमा निर्वाचन अधिकृतबाट अनुमति लिएर मात्र प्रयोग गर्न पाउने ब्यवस्था रहेको छ ।

झापामा १५ वटा स्थानीय निकायमा दलहरु अहिले चुनाव प्रचार–प्रसारमा ब्यस्त रहेका छन् । ८ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको झापामा केन्द्रीय स्तरका नेताहरु चुनावी मैदानमा उत्रिएका छन् । ५ वटा निर्वाचन क्षेत्र रहेको झापामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
यस पटकको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ५ लाख ८५ हजार १ सय ६६ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउने निर्वाचन कार्यालयले जनाएको छ । झापामा नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस नेता एवम् पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, माओवादी नेता एवम् पूर्व सञ्चारमन्त्री सुरेन्द्र कार्की, राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन, कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय स्तरका नेताहरु चुनावी मैदानमा छन् ।

पश्चिम नेपालमा उम्मेदवारमाथि लगातार बम आक्रमण भइरहेका बेला झापामा त्यस्तो कुनै पनि अप्रिय घटना नहोस् भन्ने उद्देश्यले प्रहरीले उच्च सतर्कता अपनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केसीले बताए । झापाका काँकरभिट्टा, भद्रपुर लगायत दक्षिणी नाकाहरुमा सुरक्षा चेकजाँचमा कडाइ गरिएको बताइएको छ । ऐतिहासिक निर्वाचन भएकाले सबै सुरक्षा निकाय यसलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न लागेको प्रमुख जिल्ला अधिकारी तिवारीले बताएका छन् ।
यसैबीच जिल्ला प्रहरी कार्यालय झापाले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न नभएसम्मका लागि इजाजतप्राप्त हतियारहरु नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ ।
जिप्रका झापाले लाइसेन्स प्राप्त हतियारहरु चुनाव नसकिएसम्मका लागि बुझाउन सार्वजनिक सूचना नै निकालेर सबैसँग आग्रह गरेको छ । बिर्तामोडमा केही ब्यक्तिले लाइसेन्सप्राप्त हतियार बुझाएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

लाइसेन्स प्राप्त हतियार निर्वाचन सकिए लगत्तै सम्बन्धित ब्यक्तिलाई फिर्ता गरिने उनको भनाइ छ । झापाका प्रमुख शहरहरु काँकरभिट्टा, बिर्तामोड, दमक, भद्रपुर लगायतका स्थानमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ । शंकास्पद गतिविधि गरेमा तत्काल नियन्त्रणमा लिएर अनुसन्धान गर्ने केसीको भनाइ छ ।

Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर