Aamsanchar

हातहतियार देख्दा प्रहरी नै चकित !

Author Image
मङ्गलवार, कार्तिक २८, २०७४

इटहरी।

प्रहरीले इटहरीबाट ठूलो परिमाणमा हतियार बरामद गरेको छ । प्रहरी नायव उपरीक्षक सञ्जयबहादुर राउतको नेतृत्वको टोलीले हतियार बरामद गरेको हो । गत बिहीबारराति इटहरी–४स्थित चौधरी टोलमा एक्कासी गोली चल्यो । गोली चलेपछि आसपासका स्थानीय त्रसित बने । गोली चलेको केही मिनेटमै प्रहरी घटनास्थल पुग्यो ।

प्रहरी पुग्दा गोली चलाउने व्यक्ति फरार भएकाले प्रहरीले उनीहरुको खोजी कार्य जारी राख्यो । प्रहरीले घटनास्थलमा एक थान गोलीको खाका फेला पारेको थियो । गोली ‘अटोमेटिक’ पेस्तोलबाट फायर भएको अनुसन्धानबाट खुलेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले मनोज चौधरीले सुजन नेपाललाई तर्साउन हवाई फायर गरेको खुलेको छ । प्रहरीले गोली चलाउने चौधरीको खोजीलाई व्यापक बनायो । चौधरी आफूले चलाउने बा५च २७८को कार छाडेर फरार भइसकेका थिए । उनको खोजीमा सादा पोशाकका प्रहरी परिचालन गरेर जब घरमा छापा मार्न पुग्यो तब तीन छक्क प¥यो प्रहरी टोली ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सञ्जय बहादुर राउतसहितको टोली उनको घर खानतलासी गर्दा उनको कोठामा राखिएका हतियार र अन्य सामग्री देखेर आश्चर्यचकित भयो । उनको कोठामा यति धेरै हतियार थिए– लाग्थ्यो कि त्यो कुनै हतियारको भण्डार नै हो– डीएसपी राउतले भने ।

प्रहरीले उनको कोठा सर्च गर्दा पेस्तोल, एयरगन, गोली, खुकुरी, तरवार र कत्ती जस्ता घातक हतियार भेटिए । खेलौना प्रकारका बन्दुक र पेस्तोल त यति धेरै थिए कि मानौ त्यो हतियारको गोदाम हो । चौधरीले घटनास्थलमा पड्काएको पेस्तोल कोठामा फेला नपारे पनि अन्य घरमा बनाइएका एयर पेस्तोल ३ थान फेला प¥यो । साथै १६ थान खेलौना बन्दुक, गोली २ थान, ३ थान कत्ती, नक, चक्कु, ७६ थान हाते घडी, ल्यापटप, २५ थान मोबाइल सेट उनको कोठाबाट बरामद भयो ।

चौधरीको कोठाबाट बरामद भएको हतियारले फरार मनोज चौधरी कुख्यात अपराधी हुन सक्ने अनुमान गरिएको छ । अनुसन्धानबाट चौधरीले समूह बनाई रातको समयमा नक्कली र सक्कली दुवै बन्दुक प्रयोग गरेर लुटपाट गर्ने गरेको हुन सक्ने बताइएको छ । चौधरी इटहरी क्षेत्रमा साना हतियार र लागूऔषधको कारोबारी भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी राउतको दाबी छ । चौधरीले के उद्देश्यले हतियार जम्मा गरेको हो भन्ने बिषयमा अनुसन्धान थालेको राउतले बताए । बरामद सबै हतियार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै डीएसपी राउतले लागूऔषध खरिदबिक्री गर्दा चौधरीले पैसा नहुने प्रयोगकर्ताहरुबाट घडी र मोबाइल लिने गरेको हुन सक्ने बताए । ‘इटहरीमा यति धेरै हतियार अहिलेसम्म फेला परेको थिएन’– राउतले भने– ‘यो प्रहरीको सफलता हो’ ।

चौधरीको खोजीमा प्रदेश १ लगायत देशका बिभिन्न स्थानमा प्रहरी परिचालन गरिएको समेत उनले बताए । उनी चाँडै पक्राउ पर्ने राउतको दाबी छ । उनलाई ज्यान मार्ने उद्योग, लागूऔषध र हातहतियार तथा खरखजनाको मुद्दा दायर गरिएको पत्रकार सम्मेलनमा डीएसी राउतले जानकारी दिए ।

यस्तै दुई महिनाको अबधिमा इटहरी उपमहानगर भित्र ११ जना लागूऔषध, २४ जना गुण्डागर्दी, २३ जना यौन क्रियाकलापमा संलग्न, ९ जना ज्यान मार्ने उद्योग, १४ जना जुवाडे पक्राउ गरी कारबाही गरेको समेत पत्रकार सम्मेलनमा उनले जानकारी दिए । इलाका प्रहरी कार्यालय इटहरीमा राउत आए पश्चात २० जनाबिरुद्ध सार्वजनिक अपराध तथा ४ जना चोरीमा संलग्नलाई कारबाही गरेको बताइएको छ ।

चोरीका दुई सबारी र ४ वटा मोबाइल बरामद गरिएको छ ।यस्तै अदालतबाट दोषी भइ हाल फरार रहेका १२ जना अभियुक्तलाई पक्राउ गरी अदालतमा हाजिर गराइएको समेत डीएसपी राउतले बताए ।

Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर