Aamsanchar

कनकाई नपालाई भ्रष्टचारमुक्त बनाइने

Author Image
बुधवार, पौष ५, २०७४

सुरुङ्गा।

कनकाई नगरलाई भ्रष्टाचारमुक्त, समृद्ध नगर बनाइने उद्घोषका साथ आ.व. २०७४÷०७५को बजेट सार्वजनिक गरिएको छ ।

कनकाई नगरपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी गत कात्तिक ३० गते पहिलो नगरसभावाट पारित चालू आ.व. २०७४÷७५को वजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कूल ४० करोड २६ लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

जसमा नेपाल सरकारवाट नगरपालिकालाई वित्तीय समानीकरण, सशर्त अनुदान, सामाजिक सुरक्षा, सडक बोर्ड नेपाल, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, संघ प्रदेश तथा जिल्ला समन्वय समितिवाट थप हुन सक्ने अनुदानका साथै कनकाई नगरपालिकाको आन्तरिक आय र राजश्व बाँडफाँडबाट प्राप्त हुन सक्ने रकम समावेश गरी बजेट सार्वजनिक गरिएको नगर प्रमुख पोखरेल बताए ।

चालू खर्च ३ करोड ४६ लाख ५० हजार र पूँजीगत तर्फ २० करोड ९० लाख ५ हजार रहेको बजेट सार्वजनिक गरिएको हो । उल्लेखित चालू खर्चको रकममा सामाजिक सुरक्षा भत्ता तथा शिक्षा र स्वास्थ्यतर्फको अन्य सशर्त अनुदान रकम नजोडिएको बताइएको छ । कूल पूँजीगत खर्च मध्ये कृषि तथा पशुपालन क्षेत्रमा ६४ लाख ३० हजार, भौतिक पूर्वाधार विकासतर्फ ८ करोड ३२ लाख, लक्षित वर्ग कार्यक्रमतर्फ १ करोड ५० लाख, स्वास्थ्यतर्फ ३० लाख, शिक्षातर्फ ३६ लाख ५० हजार, उद्योग स्थापनातर्फ १ करोड, विपद व्यवस्थापन तर्फ ७० लाख, पर्यटनतर्फ ९६ लाख ५० हजार, नदी नियन्त्रणतर्फ १ करोड २० लाख, विद्युत् विस्तारका लागि १ करोड १० लाख बिनियोजन गरिएको नीति तथा कार्यक्रमसहितको वजेट सार्वजनिक गरिएको कनकाई नगरपालिकाका प्रमुख पोखरेलले बताए ।

बजेटमा शीर्षकगत पूँजीगत खर्च विनियोजनभित्र वडास्तरीय योजनामा विनियोजन भएको रकम समेत समावेश गरिएको जनाइएको छ । बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा कनकाई नगर वडा नं. १देखि वडा नं. ९सम्मका वडा नागरिक मञ्चका संयोजकहरुलाई सम्मान पत्रसहित फूल अविरवाट सम्मान गरिएको थियो ।

त्यस्तै खेलकुदको विकास र प्रबद्र्वनमा महत्वपूर्ण योगदान पु¥याए बापत वरिष्ठ फूटबल प्रशिक्षक सन्तबहादुर रायमाझीलाई कनकाई स्पोर्टस् एम्बासडरद्वारा विभुषित गरी कदरपत्रले सम्मान गरिएको छ । त्यस्तै असल कर्मचारीका रुपमा कनकाई नगरपालिकाका कर्मचारी लक्ष्मीप्रसाद अधिकारी र भोजराज आचार्यलाई जनही नगद ७ हजार ५ सयसहित प्रशंसा पत्रले सम्मान गरियो ।

सम्मानित सबै जनालाई कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं.४का प्रतिनिधिसभाका नवनिर्वाचित माननीय सदस्य एलपी साँवा लिम्बूले सम्मान पत्र प्रदान गरेका थिए । कनकाई नगरकी उपप्रमुख मञ्जु प्रसाईँको स्वागत तथा नगरका कार्यकारी अधिकृत देवेन्द्र कार्कीको सञ्चालन रहेको कार्यक्रममा विशेष अतिथिहरु झापा क्षेत्र नं. ४ प्रदेश (क)का नवनिर्वाचित सदस्य झलकसिंह दर्लामी मगर र प्रदेश (ख) का हिरा थापाले शुभकामना मन्तव्य राखेका थिए ।

Views: 309

प्रतिक्रिया (०)

सम्बन्धित खबर