Aamsanchar

बिजुली बलेपछि नाचगान र भोजभतेर

Author Image
बिहिवार, असार २३, २०७३

म्याग्दी।

index

म्याग्दीको दुर्गम गाविस मल्कावाङमा ४२ किलोवाट क्षमताको नन्दीवाङखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भई बुधबारदेखि बिजुली बलेपछि स्थानीयवासीले नाचगान र भोजभतेर गरेर खुसियाली मनाएका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, खुमलटार, ललितपुरको आर्थिक सहयोग र डिसिआरडिसी बागलुङको प्राविधिक सहयोगमा कुल रु दुई करोड २३ लाख ६५ हजारको लागतमा सो जलविद्युत् आयोजना निर्माण भएको निर्माण समितिका सहसचिव हरिबहादुर छन्त्यालले जानकारी दिनुभएको छ ।

सहसचिव छन्त्यालले दिएको जानकारीअनुसार जनश्रमदान रु ५९ लाख ५५ हजार बराबर, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ८१ लाख ९० हजार, प्रवासी मल्कावाङवासीको रु ४९ लाख, जिविस म्याग्दीको रु दुई लाख, मल्कावाङ गाविसको रु तीन लाख २० हजार, स्थानीय जनजागरण आमा समूह र सनलाइट युवा क्लबको रु २८ लाख गरी जम्मा रु दुई करोड २३ लाख ६५ हजारको लागतमा सो आयोजना निर्माण भएको हो ।

निर्माण सम्पन्न भई बुधवारदेखि मल्कावाङ गाविस वडा नं २ देखि ६ सम्मका २१२ घरमा बिजुली बलेको जलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष लालबहादुर छन्त्यालले बताउनुभयो ।

“बिजुली बलेपछि हामी अत्यन्त खुसी छौँ, यस्तो दुर्गम गाउँमा पनि बिजुली बाल्न पाउँला भनेर सोचेकै थिएनौँ”, स्थानीय तिलकुमारी छन्त्यालले भन्नुभयो । बिजुली बलेपछि मल्कावाङका बासिन्दाले बुधवार भोजभतेर र नाचगान गरेर खुसियाली साटासाट गरेका थिए ।

जलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष लालबहादुर छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डिसिआरडिसी बागलुङका इन्जिनियर दिनेश कार्की र सहसचिव हरि छन्त्यालले आयोजना सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर