Aamsanchar

बीमा गराउन कृषकलाई प्रशिक्षण

Author Image
आइतवार, माघ २८, २०७४

बिर्तामोड।

कूल पशुधन मूल्यको ५ प्रतिशत बीमा प्रिमियम हुने र सो प्रिमियमको २५ प्रतिशत मात्र कृषकका तर्फबाट बुझाउनुपर्ने हुन्छ । बाँकी प्रिमियमको ७५ प्रतिशत सरकारबाट कृषि विकास बैंकको तर्फबाट कृषकलाई उपलब्ध गराइन्छ । सरकारले कृषकका लागि बाली र पशुधन सुरक्षण सम्बन्धी कार्यविधि ल्याएर बीमाको व्यवस्था गरे पनि कृषि विकास बैंकमार्फत झापाका कुनै पनि कृषकले कृषि वीमा गरेका छैनन् ।

अन्य वित्तीय संस्थाबाट बीमा गर्न शुरु गरे पनि कृषि विकास बैंकमार्फत कृषकले बीमा नगरेको कृषि विकास बैंक बिर्तामोड शाखा प्रबन्धक दीपक बारकोटीले बताए । झापामा बिर्तामोडसहित दमक, भद्रपुर, धुलावारी, सुरुङ्गा र गौरादहमा बैंकका शाखा छन् । तर, कुनै पनि शाखाबाट कृषकले बाली र पशुधन सुरक्षण बीमा गरेका छैनन् । बैंकबाट कृषकले कृषि कर्जा लगे पनि बीमा भने नगराएको शाखा प्रबन्धक बारकोटीले बताए ।

नेपाल सरकार कृषि विकास बैंक लिमिटेड र कृषि तथा लद्युउद्यम विकास विभागले पशुधन र बाली सुरक्षण सम्बन्धी बीमा गराउँदै आएको छ ।
झापाका कृषकले अझै पनि बीमा नगरी पशुपालन र खेतीपाती गरिरहेकाले उनीहरुलाई बाली तथा पशुधन सुरक्षण कार्यक्रममा सहभागी गराउन जनचेतना प्रदान गर्न झापामा कार्यक्रम लागू गरिएको छ ।

सोही क्रममा बाह्रदशी–६ विहीवारे र बाह्रदशी–३ राजगढका कृषकलाई परीक्षण प्रदान गरिएको छ । कृषि तथा लद्युउद्यम विकास विभागका शाखा प्रमुख माधव रिजाल, डा. प्रल्हाद सापकोटा, कृषि विकास बैंक क्षेत्रीय निर्देशक अरुणकुमार ढुंगाना, शाखा अधिकृत अमृत राई लगायतले कार्यक्रमको सहजीकरण गरेका थिए ।
कार्यक्रममा बिर्तामोड शाखाका अधिकृत कमलप्रसाद राजवंशी, श्याम काफ्ले लगायतले कृषकलाई बाली सुरक्षण र पशुधन सुरक्षण सम्बन्धी जानकारी गराएका थिए ।

Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर