दूधे ।


झापाको शिवसताक्षी दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले मौन जुलुश कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो स्वार्थपूर्तिका लागि सिरियामा भएको बालबालिकाको हत्याको विरोधमा विद्यालयमा रहेको राष्ट्रिय रमणीय आदर्श बालक्लबले जुनियर रेडक्रस सर्कलको सहकार्यमा मौन जुलुश निकालेको थियो ।

कक्षा ६ देखि १० सम्मका ३ सय बढी विद्यार्थीहरुले हातमा आतंकबादका नाममा बालबालिकाको हत्या गर्न पाइदैंन, सिरियाली चिल्ड्रेन स्वर्गमा वास होस्, बालबालिका हत्या बन्द गर, बालअधिकार महासन्धी उल्लङ्गन गर्न पाइदैंन, निर्दोष बालबालिका हत्या गरेर के पाइयो ? जस्ता प्लेकार्ड बोकी दूधे बजार परिक्रमा गरी कोण सभामा पारित भएको थियो ।

उक्त कोणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लायन्स क्लब अफ शिवसताक्षीले निर्दोष बालबालिकाको विनाकारण हत्या गरेकोमा दुःख प्रकट गर्दै बालक्लबले गरेको बालबालिका शसक्तिकरण र प्रभावकारिताको प्रशंसा गर्दै क्लबलाई परेको बेला जुनसुकै सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

संयुक्त राष्ट्र महासंघको सन् १९८९ मा बालअधिकार महासन्धी गर्दैगर्दा विश्वका १ सय ७९ वटा देशहरुले संयुक्त रुपमा गरेको हस्ताक्षरको ठाडो उल्लघंन भएको तथा बालबालिकाले बाँच्न पाउने अधिकारको हनन भएको भन्दै सो मौन जुलुश गरि अधिनायकवाद राष्ट्रलाई शिक्षा ग्रहण गर्न सो कार्यक्रम सञ्चालन गरिएको विद्यार्थी सुजन लिम्बुले बताए ।
कार्यक्रममा विद्यालयका प्रअ तथा बालअधिकार मञ्चका संरक्षक कालीप्रसाद रिजालले बालअधिकार मञ्चको गतिविधि माथि प्रकाश पारेका थिए भने विद्यालय स्तरीय बालअधिकार मञ्चका संयोजक शिक्षक गोविन्द काफ्लेले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै बालबालिकाको बाँच्न पाउन हकको संरक्षणका लागि बालक्लबले यस्तो क्रियाकलाप अघि सार्नुपरेको जानकारी दिएका थिए ।
बालक्लबकी अध्यक्ष अस्मिता बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कुशल नेपालले गरेका थिए । स्मरण रहोस् उक्त बालक्लबले विभिन्न सामाजिक गतिविधिका साथसाथै विद्यार्थी केन्द्रित तालिमहरु सञ्चालन गर्दै आइरहेको छ ।

