भद्रपुर।

झापाको पूर्वी नाका काँकरभिट्टाबाट भन्सार छलेर नेपाल भित्र्याइएको धातुको सामानसहित भारतीय मिनी ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार गोप्य सूचनाको आधारमा मेची नगरपालिका–६स्थित हनुमान मन्दिर नजिकैबाट २५ लाख मूल्य बराबरको धातुको सामान लोड गरिएको भारतीय ट्रक नियन्त्रणमा लिएको हो ।

भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको डब्लुबी४१डी ६६४६ नम्बरको मिनी ट्रकमा धातुसहितको सामान प्रहरीले फेला पारेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए ।

ट्रकमा ल्याएको उक्त धातुको सामान सिमेन्ट उद्योगका लागि भित्र्याइएको खुलेको उनले बताए । बरामद गरिएको धातुको समान, ट्रक र चालकलाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइसकेको प्रहरीले जनाइएको छ ।

