Aamsanchar

कारागारभित्रको विकृति अन्त्य गर्न गृहमन्त्रीको निर्देशन

Author Image
आइतवार, चैत १८, २०७४

काठमाडौँ,

गृहमन्त्री रामबहादुर थापाले कारागारभित्रका विकृति र विसंगतिलाई हटाउन निर्देशन दिनुभएको छ । आइतबार कारागार व्यवस्थापन विभागको निरीक्षणपछि विभागका कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले कारागार सुधारमा उपलब्धि र परिणाम निस्कने गरी काम गर्न निर्देशन दिनुभयो ।

कारागारभित्र विभिन्न किसिमका विकृति र विसंगति रहेकाबारे आफू जानकार रहेको भन्दै त्यो सच्याउन उहाँले निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “केही कैदीलाई कारागारबाट राति ठमेलको दोहोरी साँझमा लैजानेदेखि घुमाउन विभिन्न ठाउँसम्म लैजाने गरेकोसम्म ‘रिपोर्ट’ आएको छ, त्यस्तो कार्यमा संलग्नलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनुहोस् ।”

जेलरसँगको मिलेमतोमा जेलभित्रका केही चौकीदार, नाइके, भाई नाइकेले अन्य बन्दीलाई दुःख दिने गरेको गुनासो सुनिएको भन्दै त्यस्ता कार्यमा संलग्न व्यक्तिलाई तत्काल जेल सरुवा गरी त्यसको जानकारी मन्त्रालयलाई दिन उहाँले निर्देशन दिनुभयो ।

कारागारलाई यातना गृहका रुपमा नभई सुधार गृहका रुपमा विकास गर्न आवश्यक रहेको गृहमन्त्री थापाको भनाइ छ । अपराधी कारागारमा आएपछि असल नागरिकका रुपमा रुपान्तरण भएर जाउन् भनेर ध्यान दिन आवश्यक छ ।

आफूले कारागार सुधारलाई प्राथमिकता दिएर काम गरेको भन्दै कैदीको सिदाबापतको रकम बढाउनेदेखि निर्माणाधीन कारागारलाई छिटो निर्माण सम्पन्न गर्नेसम्मको कामलाई मन्त्रालयले अघि बढाएको मन्त्री थापाले जानकारी दिनुभयो ।

विभागका निर्देशक कृष्णप्रसाद आचार्यले कारागार सुधारसम्बन्धी कार्ययोजनाको खाका प्रस्तुत गर्नुभएको थियो । गत हप्ता विभिन्न कारागारको निरीक्षणलगत्तै गृहमन्त्री थापाले कारागार सुधार योजना एक हप्ताभित्र तयार पार्न निर्देशन दिनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर