Aamsanchar

झापाको शिवसताक्षीमा एउटै जग्गाको दुई धनीपूर्जा फेला

Author Image
बिहिवार, असार २८, २०७५

बिर्तामोड।

झापाको शिवसताक्षी नगरपालिका–१मा एउटै जग्गाको दुई वटा धनीपूर्जा फेला परेको छ ।

शिवसताक्षीस्थित धरमपुर चोकबाट नजिकै महेन्द्र राजमार्गसँग जोडिएको कित्ता नम्बर ५८१को दुई कठ्ठा जग्गा स्थानीय पृथ्वीराज बोहोरा, नापी कार्यालय दमक र मालपोत कार्यालय दमकका कर्मचारीको मिलेमतोमा कित्ता नम्बर परिर्वतन गरी दुई वटा कित्ता बनाएसँंगै एउटै जग्गाको दुई वटा कित्ता नम्बर फेला परेको हो ।

जग्गा धनी यानबहादुर थापालाई जानकारी नदिई बोहोरा र कर्मचारीको मिलेमत्तोमा साविकको कित्ता नम्बर ५८१लाई ११३१ र ११३२ नम्बरको कित्ता नम्बर कायम गरी धनीपूर्जा जारी गरेको पाइएको हो ।

२०४५ सालमा तत्कालीन सुकुम्बासी समस्या समाधान आयोग मार्फत वन शुद्धीकरण अन्तर्गत थापाले प्राप्त गरेको कित्ता नम्बरको ५८१ दुई कठ्ठा जग्गा बोहोरासँगको मिलेमतोमा मालपोत कार्यालयले कित्ता नम्बर नै परिवर्तन गरिदिएको पाइएको हो ।

कित्ता नम्बर ५८१ रहेको जग्गाको तत्कालीन धरमपुर गाविस र हाल शिवसताक्षी नगरपालिकाले मातपोत लिँदै आएको छ । कित्ता नम्बर नै परिवर्तन गरिएको जग्गाको मालपोत लिँदै आएको विषयमा शिवसताक्षी नगरपालिकाका कर्मचारी नै अनभिज्ञ छन् । मालपोत कर्मचारीको मिलेमतोमा कित्ता नम्बर परिर्वतनको विषयमा जग्गाधनी अनभिज्ञ हुँदा उनीहरुले मालपोत तिर्दै आएका थिए ।

बोहोराले उक्त जग्गा २०५८ सालमा कित्ता नम्बर परिवर्तन गरेर कीर्ते गरेर आफ्नो नाममा पारेको रहस्य खुलेको छ ।
भोगचलन गर्दै आएको आफ्नो जग्गा अर्कैले आफ्नो बनाएपछि न्यायका लागि पटक–पटक आग्रह गर्दा समेत वडाध्यक्ष सुवास राईले चासो नदिएपछि थापा परिवार सञ्चारकर्मीसँग न्याय पाउन आग्रह गर्दै आएका छन् । सबै कानूनी श्रेस्ता भए पनि नक्कली कित्ता नम्बर बनाएर जग्गा हडप्ने दाउमा बोहोरा र मालपोत कार्यालय रहेको पीडित परिवारको भनाइ छ ।


आफूहरुलाई दबाब दिएर जग्गा कायम गर्न खोजेको थापाकी श्रीमती नैनाकला थापाले जानकारी दिइन् । उनले आफ्नो श्रीमानको नाममा रहेको जग्गा हडप्न २०५८ सालमा नै श्रीमानलाई अपहरण गरेर नक्कली कागजात बनाएको भएपनि त्यसबाट जग्गा धनीपूर्जा प्राप्त नभएपछि बोहोराले नापी कार्यालय दमक र मालपोत कार्यालयको सेटिङमा कित्ता नम्बर नै परिर्वतन गरी उक्त जग्गा आफ्नो नाममा पारेको बताइन् ।

जग्गाको विषयमा थापाकी श्रीमती नैनाकलाले शिवसताक्षी नगरपालिकास्थित वडा नम्बर १को कार्यालयमा २०७४ साल माघ ११ गते दर्ता नम्बर ७६ र २०७५ साल वैशाख ३० गते दर्ता नम्बर १६१मा उजुरी दिए पनि वडाध्यक्ष राईले चासो नदिएको थापा पारिवारको भनाइ छ । पटक–पटकको आग्रहपछि वडा कार्यालयले नगरपालिकामा सिफारिस गरेको बताइएको छ ।

यस विषयमा वडाध्यक्ष राईसँग सम्पर्क गर्दा उनले आफूलाई पहिलो निवेदन दिएको थाहा नभएको भन्दै गैरजिम्मेवारी अभिव्यक्ति दिएका छन् । उनले जग्गाको विषयमा प्रश्न राख्नासाथ केही नबुझेको भन्दै पछि फोन गर्नु भन्दै पन्छिएका थिए ।

यता अर्काको जग्गाको कित्ता नम्बर समेत परिवर्तन गरेर आफ्नो नाममा पारेका बोहोरालाई सम्पर्क गर्दा उनले आफ्ना बुबाले २०४० सालमा उक्त जग्गा किनेको भन्दै सो जग्गा आफ्नै भएको दाबी गरे । ४५ सालमा सुकुम्बासी आयोगले कसरी थापाको नाममा धनीपूर्जा दियो भन्ने प्रश्नमा भने उनले थापाले नै जालसाज गरेको गम्भीर आरोप लगाए । यस विषयमा स्थानीय एक सञ्चारकर्मीको नाम लिँदै उसलाई सबै मिलाउने जिम्मा दिएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर