Aamsanchar

प्रविधिमैत्री शिक्षा प्रदान गर्नुपर्नेमा जोड

Author Image
शुक्रवार, असार २९, २०७५

भद्रपुर।

प्रविधिसँग शिक्षालाई जोड्न झापाका सामुदायिक तथा निजी विद्यालय पछि परेकाले विद्यार्थीहरुले प्रविधिमैत्री गुणस्तरीय शिक्षा पाउन नसकेको बताइएको छ ।

एउटा कम्प्युटर वा ल्यापटसँगै इन्टरनेटको माध्यमबाट विद्यार्थीलाई प्रविधिमैत्री गुणस्तरीय शिक्षा दिन सकिए पनि यसतर्फ झापाका ९० प्रतिशतभन्दा बढी विद्यालयले चासो नदेखाएको ब्रिटिस काउन्सिल पूर्वाञ्चल कार्यक्रम संयोजक चूडामणि निरौलाले बताए ।

पूर्वमा ब्रिटिस काउन्सिलसँग सहजीकरण गरी प्रविधिमैत्री शिक्षा पद्धतिलाई हरेक विद्यालयले लिन सकिने निरौलाले बताए । उनका अनुसार काउन्सिलले सन् २०१२ बाट नेपालका विद्यालयलाई अन्र्तराष्ट्रिय शिक्षणसँग समन्वय गरी विद्यार्थीलाई प्रविधि केन्द्रित बनाउने अभियान शुरु गरी तेस्रो चरणसम्म आइपुगेको छ ।

यसवर्ष देशभरका ७७ वटा विद्यालयले ब्रिटिस काउन्सिलसँग सहकार्य गरेर विद्यालयमा दिएको शिक्षणमध्ये ४२ वटा विद्यालयले मात्र काउन्सिलमा परियोजना प्रतिवेदन बुझाएका थिए । जसमध्ये यसबर्ष भद्रपुरको प्रज्ञा एकाडेमी र दमकको झापा मोडलसहित १९ वटा विद्यालय उत्कृष्ट भई अवार्ड पाएको उनले बताए ।

उनले भने– ‘अहिलेको विद्यार्थीलाई शिक्षकले पढाउने होइन, सहजीकरण गरी शिक्षा प्रदान गर्ने हो ।’ यस कार्यक्रमको मूल उद्देश्य विद्यालयको पाठ्यपुस्तकको बोझलाई घटाएर विद्याथीलार्ई प्रविधिसँग जोडने उनले बताए ।

काउन्सिलकी कोअर्डिनेटर उर्वसी चौहान (खड्का) ले झापाका विद्यालय र शिक्षकले यस्तो शिक्षा पद्धतिलाई बुझ्न नचाहेको बताउँदै जसले बुझेका छन्, त्यसले यही पद्धतीबाट विद्यालयमा शिक्षा दिइरहेको बताइन् । उनले यस कार्यक्रम लागू गर्दा विद्यार्थीमा अतिरिक्त खर्च समेत नलाग्ने र प्रविधिमैत्री स्थानीयकरणको पाठ्यक्रम विकासमा योगदान पुग्ने बताइन् ।

त्यस्तै यस पद्धतिमा सहभागी विद्यालयले प्रविधिमैत्री तथा बाल केन्द्रित शिक्षणमा जोड दिने हुँदा बालबालिकाको सर्वाङ्गीण विकास हुने गरेको प्रज्ञा एकाडेमीका प्रिन्सिपल इशुभ पाण्डेले बताए । प्रविधिमा सिकाइ गर्ने विद्यार्थी अन्तर देशीय संस्कृति, सभ्यता, पहिचानमा दक्ष हुने गरेको अनुभव उनले बताए । उनका अनुसार नेपालका संस्कार, संस्कृति अन्य देशमा परिचित हुने, स्थानीय विषयलाई पाठ्यक्रमको रुप धारण गर्ने अवसर प्राप्त हुने हुँदा सवल नागरिक उत्पादनमा योगदान पुग्ने आफूले विश्वास लिएको बताए ।

प्रज्ञा एकाडेमीमा खुशी साटासाट

ब्रिटिस काउन्सिलद्वारा सन् २०१८ को इन्टरनेशनल स्कूल अवार्ड प्राप्त गरेको अवसरमा प्रज्ञा एकाडेमी भद्रपुरले विद्यालयका अभिभावक तथा शिक्षकसँग खुशी साटासाट गरेको छ ।

भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल इशुभ पाण्डेले विद्यालयका अभिभावक तथा शिक्षकलाई प्रमाणपत्रसहित सम्मान गरेका थिए ।

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर