Aamsanchar

मेची भन्सारको राजश्व १० अर्ब भन्दा बढी

Author Image
बिहिवार, साउन ३, २०७५

दमक।

नेपालको पूर्वी नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले आर्थिक बर्ष २०७४÷०७५मा १० अर्ब १८ करोड २७ लाख भन्दा बढी राजश्व संकलन गरेको छ ।

९ अर्ब २० करोड ९१ लाख ३८ हजार लक्ष्य लिएकोमा १ सय ११ प्रतिशत राजश्व संकलन भएको भन्सार प्रमुख टेकबहादुर अर्यालले बताए ।
अर्यालका अनुसार आर्थिक बर्ष २०७३÷०७४मा ६ अर्ब ५२ करोड २६ लाख राजश्व असुली भएकोमा २०७४÷०७५मा १० अर्ब १८ करोड २७ लाख रुपैयाँ राजश्व संकलन भएको छ । गतबर्षको तुलनामा यो ५६ प्रतिशतले बढी भएको समेत अर्यालको भनाइ रहेको छ । भन्सारमा गरिएको सुधारका कारण यो सम्भव भएको जनाउँदै लक्ष्य अनुसार नै सहज रुपमा राजश्व बृद्धि भएको उनको भनाइ छ ।

मेची भन्सारको इतिहासमा यस बर्ष अहिलेसम्मकै उच्च राजश्व संकलन भएको अर्याल बताउँछन् । पेट्रोलियम पदार्थ, कोइला, किलिन्कर जस्ता मालबस्तु आयातमा भएको बृद्धि, सुरक्षा निकाय, आयत निर्यातकर्ता, भन्सारकर्मीहरुको निरन्तर सहकार्यले यो सम्भव भएको पनि अर्यालले बताए । चिया, अदुवा, अम्रिसो, कर्कटपाता र हस्तकलाका सामग्री अधिक निर्यात हुने गरेको छ ।

गतबर्ष जेठ महिनामा सबैभन्दा बढी राजश्व संकलन भएको देखिएको छ । यो महिनामा १ अर्ब २३ करोड ८५ लाख ७ हजार ८ सय २४ रुपैयाँ संकलन भएको पाइएको छ । अर्यालका अनुसार यो महिना लक्ष्यभन्दा २४ प्रतिशतले राजश्व बृद्धि भएको छ । यसैगरी बैशाख, असोज, पुस, माघ र चैतमा बढी राजश्व संकलन भएको अर्यालले जानकारी दिए ।

यो नाका बङ्गलादेश र भुटानसँग निकटतम दुरीमा रहेकोले उक्त दुवै देशसँग स्थलगत व्यापार हुने प्रमुख नाका भएको अर्याल बताउँछन् । यस बाहेक यस नाकाबाट चीनसँग पनि सामुद्रिक मार्ग भएर व्यापार हुने गरेको छ । यी राष्ट्रबाट करिव ९ प्रतिशत व्यापार हुने गरेको छ । भारत, भुटान र बंगलादेश बाहेकका मुलुकहरुसँग व्यापार करिव १६ प्रतिशत रहेको छ ।

चालू आर्थिक बर्षमा राजश्व संकलमा उल्लेख्य बृद्धि हुने पनि अर्याल बताउँछन् । एकद्वार प्रणालीबाट भन्सार जाँच शुरु गरिएकाले राजश्व बृद्धि हुने उनको भनाइ छ । ‘एक महिना अघिदेखि भन्सारमा भन्सार जाँचका लागि एक्स–रे मेसिन राखिएको छ । यसबाट हामी उल्लेख्यमात्रामा राजश्व बृद्धि हुनेमा आशाबादी रहेको छौं’– अर्यालले भने ।

भन्सार जाँच टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मले बेग्लाबेग्लै जाँच गर्दै आएको थियो । यसले राजश्व चुहावट समेत हँुदै आएको भन्ने बारम्बार आलोचना समेत भएको थियो । यो काम अगाडि नै हुनुपथ्र्यो तर ढिलै भए पनि शुरु गरेका छौ र यसले भन्सार जाँचलाई धेरै सहज बनाउनेछ– अर्यालले भने ।

अर्यालका अनुसार यस कार्यालय अन्तर्गत रहेका १२ वटा छोटी भन्सार कार्यालयहरु गाडागल्ली, बाहुनडाँगी, नकलबन्दा, सतीघट्टा, भद्रपुर, पाठामारी, घेरावारी, पन्थपाडा, केचना, झापा, महाभारा र आठमौजा (गौरीगञ्ज)रहेका छन् । जसमध्ये बाहुनडाँगी, नकलबन्दा, भद्रपुर र गौरीगञ्ज, कुमरखोद गरी ५ वटा सञ्चालनमा रहेका छन् ।

Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर