सुरुङ्गा।

कनकाई नगरपालिका–५ निवासी ट्युमरपीडित तीर्थ सुबेदीले आर्थिक सहयोगका अपिल गरेका छन् । हड्डीको ट्युमर भई उपचाररत् ३५ वर्षीय तीर्थ सुबेदीले खर्च अभावले उपचार गर्न नपाएको भन्दै आर्थिक सहयोग गरेर जीवन बचाइदिन सबैसँग अनुरोध गरेका छन् । सात वर्ष पहिले रोजगारीका लागि मलेसिया गएको बेला आफूलाई ट्युमर पलाइएको पत्ता लागेपछि रोजगारदाता कम्पनीबाट खाली हात फर्कनुपरेको सुवेदी बताउँछन् ।

उल्टै रोजगारदाता कम्पनीले लेबी रकम बराबरको काम लगाएर लेबी असुल भएपछि रोगी अवस्थामा आपूmलाई नेपाल पठाइदिएको सुवेदीले गुनासो गरे । त्यसबेला पनि सुवेदीले आफूसँग भएको सात लाख रुपैयाँ खर्चेर भरतपुर क्यान्सर अस्पतालमा उपचार गराएको उनले बताए । भएको रकम पनि सकिएको र हाल आएर रोग पुनः बल्झिएपछि थप समस्यामा परेको उनले बताए ।
त्यसवेला समेत खर्च अभावले तीन वटा केमु चढाउनुपर्नेमा एउटा मात्रै चढाएकोले सात वर्षपछि रोग बल्झिएको उनले बताए । हाल भरतपुर क्यान्सर अस्पतालले छ वटा केमु थेरापी गर्नुपर्ने र रेडिएसनले छ महिनासम्म सेक्नुपर्ने डाक्टरले भनेको र त्यसका लागि चार लाख रुपैयाँ लाग्ने डाक्टरले भनेको उनले बताए । आफूसँग भएको सबै जायजेथा पहिले नै उपचारका लागि सकिसकिएकोले आर्थिक सहयोग गरेर आफ्नो जीवन बचाइदिन उनले सबैसँग अनुरोध गरे ।

एक १२ वर्षीय छोरा र सात वर्षीय छोरीका पिता समेत रहेका सुवेदीकी श्रीमती कुमारीदेवीले स्थानीय फ्याक्ट्रीमा काम गरेर परिवारको लालनपालन गर्दै आएकी छन् । सम्पत्तिको नाममा सानो घर मात्रै रहेको सुवेदीको उपचारमा सक्दो आर्थिक सहयोग गरिदिन कनकाई नगरपालिकाले सबै देश–विदेशमा रहने नेपालीहरुसँग अनुरोध गरेको छ ।
सुवेदीको जीवन रक्षाका लागि स्थानीय युवा दिनेश मैनालीको संयोजकत्वमा तीर्थ सुवेदी बचाऊ सहयोग समिति समेत गठन गरिएको छ । सहयोग समितिको सदस्यहरुमा याम फुयाल, भोला खड्का र रामबहादुर बुढाथोकी रहेका छन् । सहयोग समितिले सहयोगका लागि सामाजिक सञ्जाल फेसबुकबाट मद्दत माग्दा हालसम्म ५० हजार रुपैँया सहयोग रकम जुटेको छ ।
पीडित सुबेदीलाई सहयोग गर्न चाहनेले सुवेदीकी श्रीमती कुमारीदेवी बुढाथोकीको नाममा रहेको सनराइज बैंकको खाता नम्बर ०३८०४७१३१५२०२००१ मा रकम जम्मा गरिदिन वा सहयोग समितिका संयोजक दिनेश मैनालीलाई ९८२४९०७१०९ मा सम्पर्क गरिदिन समितिले अनुरोध गरेको छ ।

