Aamsanchar

कनकाईका ६ चौकलाई स्मार्ट बनाइने

Author Image
आइतवार, साउन ६, २०७५

सुरुङ्गा।

कनकाईलाई आधुनिक प्रविधिसँग जोड्दै नगरका ६ वटा चौकहरुलाई स्मार्ट चौकको रुपमा विकास गरिने भएको छ ।

हालै कनकाई नगरपालिकाले सार्वजनिक गरेको आ.व. २०७५÷०७६को वार्षिक नीति, कार्यक्रम तथा बजेटमा सुरुङ्गा, लक्ष्मीपुर, घैलाडुब्बा, दुर्गापुर, चम्पापुर र कोटीहोम चौकलाई स्मार्ट चौकको रुपमा विकास गर्ने उद्घोष गरिएको हो ।

यी चौकहरुलाई आगामी ३ वर्षभित्र स्मार्टचौकको रुपमा विकास गर्ने तथा यो काम सम्पन्न गर्न नगरपालिकाको आन्तरिक स्रोतका साथै अन्य सरकारी निकाय तथा उद्योग वाणिज्य संघ, सहकारी संस्था तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य गर्ने नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।

राजमार्ग बाहेक अन्य बाटोलाई फराकिलो बनाउने, मानिस तथा यातायातको साधन आवातजावत हुने ठाउँमा निर्माण तथा व्यापारका सामग्री नथुपार्ने, चौकलाई सफा राख्ने, फोहोर व्यवस्थापनका लागि आवश्यक पहल गर्ने, सुरक्षाका लागि सीसी क्यामेरा जडान गर्ने, खानेपानी तथा सार्वजनिक शौचालयको उचित प्रबन्ध गर्ने, यात्रुका लागि प्रतिक्षालयको निर्माण गर्ने लगायतका योजना सम्पन्न गर्ने नगरका सूचना प्रविधि अधिकृत खगेन्द्र मिश्रले जानकारी दिए । स्मार्टचौक भएपछि आवागमन सहज हुने र सुरक्षा स्थितिमा पनि सुधार हुने मिश्रले बताए ।

यसैबीच कनकाई नगरपालिकाको स्मार्टचौक निर्माण गर्ने काममा साझेदारी गर्न सहारा नेपाल साकोस तयार भएको छ । सहारा नेपालले यस कामका लागि पहिलो चरणमा सुरुङ्गा, लक्ष्मीपुर र दुर्गापुर चौक व्यवस्थित गर्न कनकाई नगरपालिकालाई साढे १३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । सहारा साकोसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘मेरो गाउँ मेरो लगानी’ कार्यक्रम वापत सो रकम सहयोग गरेको हो ।

लक्ष्मीपुर, दुर्गापुर र सुरुङ्गा चौकमा महेन्द्र राजमार्ग उत्तरदक्षिण सडकको क्षेत्रभित्र अनावश्यक गाडी पार्किङ गर्ने, व्यवसायीहरुले रड तथा अन्य निर्माण सामग्री भण्डारण गर्ने र अन्य व्यवसायीहरु पनि सडक किनारा ढाकेर व्यवसाय सञ्चालन गर्ने गरिएबाट दुर्घटनाको जोखिम बढेको अवस्थामा स्मार्टचौक निर्माण गर्ने स्थानीय सरकारको निर्णयले सो अवस्थामा सुधार हुने अपेक्षा गरिएको छ ।

Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर