Aamsanchar

अर्जुनधाराको बजेट ५८ करोड, मेयर भन्छन्–’कृषि, पर्यटन, शिक्षा र वातावरणमैत्री शहरका रुपमा चिनाउँछु’

Author Image
आइतवार, साउन १३, २०७५

अर्जुनधारा।

‘हाम्रो अर्जुनधारा नगर कृषि, पर्यटन, शिक्षा र वातावरणमैत्री शहर’ भन्ने मुख्य नारासहित चालू आर्थिक वर्ष ०७५÷०७६को लागि अर्जुनधारा नगरपालिकाको ५८ करोड ५८ लाख ८१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा शनिबार आयोजित पत्रकार भेटघाटमा प्रमुख रानाले दोस्रो नगरसभाबाट परित नीति तथा कार्यक्रमसहित विनियोजित बजेटको विषयमा जानकारी गराएका थिए ।

विनियोजित बजेट अनुसार चालू खर्च सात करोड ४४ लाख ९५ हजार रुपैयाँ, पूँजीगत खर्च २२ करोड ३४ लाख ८६ हजार रुपैयाँ, सशर्त अनुदानबाट हुने खर्च १६ करोड २७ लाख रुपैयाँ, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम÷सडक बोर्ड नेपालतर्फ ५२ लाख रुपैयाँ र सामाजिक सुरक्षा भत्ता १२ करोड रुपैयाँ उल्लेख गरिएको छ ।


उक्त खर्चको आम्दानीको रुपमा नेपाल सरकारबाट वित्तीय समानीकरण बापत निःशर्त अनुदान बापत १५ करोड ८८ लाख ५६ हजार रुपैयाँ, सशर्त अनुदान बापत १६ करोड २७ लाख रुपैयाँ, नगरपालिकाको आन्तरिक आम्दानीबाट दुई करोड ५० लाख रुपैयाँ, राजश्व बाँडफाँड बापत संघीय सरकारबाट प्राप्त हुने नौ करोड ५० लाख ७० हजार रुपैयाँ, प्रदेश सरकारबाट वित्तीय समानीकरण बापत ४२ लाख १९ हजार रुपैयाँ, राजश्व बाँडफाँडबाट प्राप्त हुने एक करोड ४८ लाख ३६ हजार रुपैयाँ, सडक बोर्डबाट ३५ लाख रुपैयाँ, सामाजिक सुरक्षा भत्ता बापत १२ करोड र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम बापत १७ लाख रुपैयाँ उल्लेख गरिएको छ ।

त्यसैगरी प्रतिवेदनमा भौतिक पूर्वाधार विकास नीति, खानेपानी तथा सरसफाई नीति, बिपद् व्यवस्थापन तथा राहत सम्बन्धी नीति, विद्युत् तथा वैकल्पिक ऊर्जा सम्बन्धी नीति, सामाजिक विकास सम्बन्धी नीति, वन तथा वातावरण सम्बन्धी नीति, कृषि तथा पशु विकास सम्बन्धी नीति, उद्योग, वाणिज्य तथा बजार व्यवस्थापन नीति, भू–उपयोग, शहरी विकास तथा व्यवस्थित बस्ती विकास नीति, पर्यटन विकास नीति, लैङ्गिक समावेशीकरण, युवा तथा खेलकुद सम्बन्धी नीति, राजश्व र वित्तीय सम्बन्धी नीति र सुशासन नीतिका विषयमा उल्लेख गरिएको छ ।

त्यसैगरी भेटघाटमा अर्जुनधारा–६का वडाध्यक्ष लोकनाथ गौतमले दोस्रो नगर सभाबाट पारित अन्य निर्णयहरु र नगरकी प्रवक्ता शकुन्तला बरालले गत साउन १२ गते नगर कार्यपालिका बैठकबाट पारित निर्णयहरुका विषयमा जानकारी गराएका थिए ।

Views: 150

प्रतिक्रिया (०)