Aamsanchar

नाटक घर बनाउन तीन कठ्ठा जमिन प्रदान

Author Image
आइतवार, साउन १३, २०७५

बिर्तामोड।

झापामा नाट्य घर निर्माण हुने भएको छ । क्षितिज नाट्य समूहको अगुवाईमा झापामा नाटक घर निर्माण हुने भएको हो ।

बृहत् सांस्कृतिक संग्राहलयसहितको नाटक घर निर्माणका लागि एक दाताले तीन कठ्ठा जमिन प्रदान गर्ने घोषणा गरेसँगै झापामा नाटक घर बन्न लागेको हो । झण्डै एक करोड रुपैयाँ पर्ने जग्गा बिर्तामोड नगरपालिका–५ निवासी मनोज निरौलाले प्रदान गर्ने घोषणा गरेका हुन् ।

उनले बिर्तामोड नगरपालिका–१मा रहेको तीन कठ्ठा जमिन प्रदान गर्ने घोषणासँगै नाटक घर निर्माणका लागि सहज भएको क्षितिज नाट्य समूहका संयोजक माधव कल्पितले बताए । उनले भने– ‘हाम्रो पहिलादेखि कै सपना हो नाटक घर निर्माण गर्ने दाताले जग्गा प्रदान गर्ने घोषणासँगै सपना साकार हुने भएको छ । हामी हिउँदबाट नाटक घर निर्माणका लागि तयारी गर्र्छाैं ।’

झापा जिल्लामा बसोबास गर्ने सबै जातजाति, भाषाभाषी, लिङ्ग र समुदायको अपनत्व कायम हुने गरी बृहत् सांस्कृतिक संग्राहलयसहितको नाटक घर निर्माण गर्ने हाम्रो लक्ष्य हो । ‘लक्ष्य प्राप्तिका लागि निरौलाले प्रदान गर्नुभएको जग्गा हाम्रो लागि प्रेरणाको स्रोत हो’–नाट्यकर्मी समेत रहेका कल्पित भने ।

नाट्यशाला तथा थिएटरको अभावमा कला र प्रतिभा भएर पनि व्यवसायिक कलाकार उत्पादन गर्न नसकिरहेको क्षितिज नाट्य समूहलाई जग्गा प्रदान गर्ने घोषणासँगै ऊर्जा मिलेको संस्थाका संस्थापक अध्यक्ष हरि भण्डारीले बताए । नाटक घर निर्माणसँगै झापामा नाट्यकर्मीको हब बनाइने र प्रदेश नं. १मै बिर्तामोडलाई नमूना बनाइने योजना अघि सारिएको नाट्यकर्मी गजेन्द्र पृथकको भनाइ छ ।

Views: 241

प्रतिक्रिया (०)