Aamsanchar

महोत्तरीमा साउने १५ पर्व मनाइँदै

Author Image
मङ्गलवार, साउन १५, २०७५

बर्दिवास ।

बर्दिवासको उत्तरी क्षेत्रमा मंगलबार साउने १५ पर्व मनाइँदै छ । खासगरी साउने १५ पर्वमा रोपाइँ सकेर खीर खाने चलन छ । जिल्लाको बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिकाका बजारमा बिहानैदेखि दूध किन्नेको भिडभाड रहेको छ ।

पछिल्लो समय पशुपालन गर्ने किसानको संख्या घट्दै गएपछि दूधको आवश्यकता डेरीले धान्नुपरेको छ । अहिले डेरी सञ्चालक र डिलरलाई दूध बिक्री गर्न भ्याइनभ्याइ भएको बर्दिवास–१ स्थित ओमशान्ति डेरीका सञ्चालक पुरुषोत्तम भट्टराई बताए । मंगलबार अन्य दिनको तुलनामा दूधको माग पाँच गुणाले बढेको उनको भनाइ छ ।

यस्तै बर्दिवास–६ स्थित राधाकृष्ण डेरीका सञ्चालक प्रमोद यादव अरु दिन २०० लिटर दूध खपत हुँदै आएकामा मंगलबार एक हजार लिटर दूधको माग आएको बताए।

जिल्लाको बर्दिवास नगरक्षेत्रका बर्दिवास चोकमात्र नभएर खयरमारा, चौलिखा, बेङ्खाडी, डाँडाटोल, हनुमानचोक, माइस्थान र पथलैयासहितका बजारमा आज बिहानैदेखि दूधको बिक्री वितरण बढेको छ । गौशाला नगरपालिकाको रजखोर, रामनगर, कान्तिबजार, गौशालाबजार, इमलीबजार, बेलगाछी तथा भङ्गाहा नगरपालिकाको सीतापुर र रामनगर बजारमा समेत ग्राहकको चहलपहल निकै बढेको पाइएको छ ।

साउने १५ पर्वमा बिबाहित चेलीवटीलाई माइत बोलाउने चलन छ । मौसमअनुकूल रहँदा साउन १५ सम्म धान रोपाइँ सकिने भएकाले यस पर्वमा पानीमा भिजेर काम गर्दा हुने चिसो र हिलोबाट पर्ने असर हटाउन खिर खाने चलन छ ।

Views: 250

प्रतिक्रिया (०)