बिर्तामोड।


वीरता जेसीजको आयोजनामा आइतवार बिर्तामोडमा समाजसेवी तथा राजनीतिज्ञ स्व। काशीलाल चौधरीको स्मृतिमा अक्षयकोषको स्थापना गरिएको छ । अनारमनी पब्लिक क्याम्पसमा अध्ययनरत् विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने गरी अक्षयकोषको स्थापना गरिएको हो । वीरता जेसीजका दीर्घकालीन योजना सभापति तथा पूर्वअध्यक्ष राजकुमार पोखरेल र श्रीमती मिना पोखरेलले आफ्नो स्वर्गीय माता कृष्णकुमारी पोखरेलको पुण्य तिथिमा अक्षयकोषका लागि ५१ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

अनारमनी पब्लिक क्याम्पस स्थापनामा संस्थापक सदस्य भई काशीलाल चौधरीले निर्वाह गरेको भूमिकाको कदर गर्दै उहाँको योगदान र नामलाई भावी पुस्ताको विस्मृतिमा जान नदिन अक्षयकोष स्थापना गरिएको बताइएको छ । आदिवासी नेता चौधरीले सामाजिक क्षेत्रमा समेत पु¥याएको योगदानको अक्षयकोषका लागि रकम हस्तान्तरण समारोहमा चर्चा गरियो ।


वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा पोखरेल, संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत र राष्ट्रिय सभाका पूर्वसांसद डिल्ली सिटौलाले संयुक्त रुपमा उक्त नगद हस्तान्तरण गरेका थिए । क्याम्पस व्यवस्थापन समितिका सदस्यहरु कृष्ण विमली, शिव खरेल र रुद्र सिटौलाले अक्षयकोषका लागि रकम बुझेका थिए ।


कार्यक्रममा स्व। काशीलाल चौधरीका परिवारबाट कृष्ण चौधरी, विष्णु चौधरी र अरुण चौधरीको आतिथ्य थियो । अक्षयकोषका संस्थापक पोखरेलले आगामी बर्ष कोषको रकम दोब्बर बनाइने प्रतिबद्धता जनाएका छन् । हुने खानेले मात्र होइन, हुँदा खानेले पनि आर्थिक अभावकै कारण उच्च शिक्षा हासिल गर्ने अवसरबाट बञ्चित हुनु नपरोस् भन्ने सोच स्व। चौधरीको रहेको र त्यसैलाई साकार पार्न स्थापना गरिएको अक्षयकोषमार्फत गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने बताइएको छ । पोखरेलले यसअघि पनि विभिन्न सामाजिक व्यक्तित्वको स्मृतिमा उक्त क्याम्पसमा अक्षयकोषको स्थापना गरिदिएका छन् ।

