Aamsanchar

देशभरका सामुदायिक विद्यालयहरु बन्द गर्ने चेतावनी

Author Image
मङ्गलवार, साउन २९, २०७५

सुरुङ्गा।

नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रीय समितिको आव्हानमा विद्यालय कर्मचारीले भदौ ३ र ४ गते देशभरका सामुदायिक विद्यालयहरु बन्द गर्ने भएका छन् ।

सामुदायिक विद्यालयका कर्मचारीलाई गुजारा गर्न मुश्किल पर्ने अत्यन्त न्यून पारिश्रमिक दिइएको, सामुदायिक विद्यालयमा सरकारले कर्मचारीलाई स्थायी दरबन्दी नदिएको, लामो समयदेखि कार्यरत कर्मचारीको सेवासुविधा ग्यारेन्टी नगरिएको, नेपाल सरकारको कर्मचारी र शिक्षकले सेवानिवृत्तपछि पेन्सन, उपादन, औषधि उपचार खर्च र सञ्चित बिदाको रकम पाउने तर विद्यालय कर्मचारीलाई विभेद गरिएको र विद्यालय कर्मचारीलाई सम्मानपूर्ण व्यवहार नगरिने भएकाले विद्यालय कर्मचारीहरु आन्दोलित भएका हुन् ।

साउन ३० गते सात सय ५३ वटै स्थानीय तहमा सरोकारवालासँग अन्तरक्रिया गर्ने, ३१ गते सबै स्थानीय तहमा केन्द्रीय समितिले पेश गरेको मागपत्रका सम्बन्धमा स्थानीय सरकारका प्रतिनिधिलाई ध्यानाकर्षण पत्र बुझाउने र सो समयसम्म पनि माग पूरा नभए भदौ ३ र ४ गते मुलुकभरका सबै सामुदायिक विद्यालय बन्द गर्ने कार्यक्रम सार्वजनिक गरिएको नेपाल विद्यालय कर्मचारी परिषद्ले जनाएको छ ।

साउन १५ गतेबाट शुरु भएको आन्दोलन भदौ ७ गते काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गर्ने र यसका लागि काठमाडांै जाऔं अभियान सञ्चालन गर्ने नेपाल विद्यालय कर्मचारी परिषद्का झापा क्षेत्र नं. ४ क्षेत्रीय समितिका सल्लाहकार पुण्यप्रसाद भट्टराईले जानकारी दिए ।

Views: 272

प्रतिक्रिया (०)