भरत शिवाकोटी/झापा,



नागपंचमीको अवसरमा देशभरी विभिन्न पुजाआरधाना गरि साउन ३१ गते नागपंचमी पर्व मनाइएको छ । यसै अवसरमा शिवाकोटीहरुको संस्था शिवाकोटी समाज नेपाल झापा जिल्ला समितीको आयोजनामा विर्तामोड नगरपालिका वडा न। १० मा अवस्थित शिवाकोटीहरुद्वारा निर्मित कालिनाग मन्दिरमा सामुहिक पुजा सम्पन्न भएको छ ।
झापा जिल्लाका विभिन्न स्थानहरुबाट उपस्थित भएका सयौं शिवाकोटीहरु तथा स्थानीय भक्तजनहरुको उपस्थितिमा सोहि स्थानमा रहेको शिव मन्दिरलाई पन्चे बाजा तथा झाँकी सहितको धार्मिक रयालीले परिक्रमा गर्दै पुजा गरेर कालिनाग मन्दिरमा फर्के पश्चात रुद्र शिवाकोटी र मेदनी शिवाकोटी बाट संयुक्त रुपमा स्वस्तिवाचन गरि विधिवत कार्यक्रम शुरु गरिएको थियो ।

कार्यक्रमाका प्रमुख अतिथी शिवाकोटी समाज नेपालका केन्द्रीय अध्यक्ष एवं विर्तामोड नगरपालिकाका मेयर धुर्व कुमार शिवाकोटीले संस्कृती र संस्कारलाई जगेर्ना गर्दै लैजानु आजको मुख्य आवश्यकता रहेको र शिवाकोटीहरु यसमा चुक्न नहुने धारणा राख्नुभएको थियो । शिवाकोटीहरुको आफ्नै इतिहास रहेको र कुलदेवता कालिनाग रहेको हुँदा हरेक वर्ष शिवाकोटीहरुले नेपालका विभिन्न स्थानहरुमा सामुहिक पुजाआरधाना गर्ने गरेको उल्लेख गर्दै शिवाकोटीले शिवाकोटीहरु द्वारा करिब दश कठा जमिनमा झापाको दुर्गापुर कालिमुडामा निर्माणाधीन रहेको मन्दिर तथा भवनहरुको निर्माण कार्यमा जुटन सबै बन्धुहरुलाई आग्रह गर्नुभएको थियो ।
पुजा कार्यक्रममा विशेष अतिथी शिवाकोटी समाज नेपाल झापाका संस्थापक अध्यक्ष तथा संविधानसभा सदस्य सुधीर कुमार शिवाकोटी तथा अतिथीहरुमा शिवाकोटी समाज नेपालका उपाध्यक्ष भक्ती शिवाकोटी,दुर्गा शिवाकोटी,केन्द्रीय सदस्य भानु शिवाकोटी,झापा अध्यक्ष धुर्व प्रसाद शिवाकोटी,क्षेत्रीय अध्यक्षहरु,सल्लाहाकारहरु,उच्च ओहोदामा रहेका शिवाकोटीहरु,स्थानीय जनाप्रतिनिधिहरू लगायतको उपस्थित रहेको थियो भने वक्ताहरुले शिवाकोटीहरुको इतिहास तथा कुलदेवता कालिनागको महत्व बारे प्रकाश पारेका थिए ।
सोही अवसरमा एकल महिला भएर पनि निरन्तर रुपमा योगदान गर्नुहुने चार जना महिलालाई दोसल्ला सहित अभिनन्दन पत्र द्वारा सम्मान गरिएको थियो । सम्मानित हुनेमा सैनिक कि पवित्रा शिवाकोटी,धाइजन कि शोभा शिवाकोटी,हल्दीवारी कि लक्ष्मी शिवाकोटी र बिर्तामोड कि मन्जु शिवाकोटी रहेका छन ।

शिवाकोटीहरु द्वारा निर्माण गरिएको उक्त कालिनाग मन्दिरलाई सोहि कार्यक्रमका बीच सार्वजनिक गरिएको छ,यस अघि पनि शिवाकोटी समाज नेपाल ले अर्जुनधारा धाममा कालिनाग मन्दिर निर्माण गरि धाम समितीलाई हस्तान्तरण गरिसकेको छ भने सोहि कार्यक्रममा निरन्तर रुपमा शिवाकोटी समाज नेपाललाई सहयोग गर्दै आउनुभएका उपाध्यक्ष दुर्गा शिवाकोटीले दुर्गापुर कालिमुडामा निर्माणाधीन रहेको भवनको निमित्त नगद एक लाख दुइ हजार रुँपिया झापा अध्यक्ष धुर्व प्रसाद शिवाकोटीलाई हस्तान्तरण गर्नुभएको थियो ।
आगामी वर्ष नागपंचमीका दिन देखि दुर्गापुर स्थित कालिमुडा मा आगामी असोजबाट निर्माण कार्य थालनी भएर सम्पन्न हुने नाग प्रतिमामा नै पुजा आरधाना गरिने जानकारी दिदै शिवाकोटी समाज नेपाल झापाका अध्यक्ष धुर्व प्रसाद शिवाकोटी ले नागपूजा भव्य र सभ्य रुपमा सम्पन्न भएको र कुलदेवता कालिनागले सबैको रक्षा गरिदिने प्रतिक्रिया दिनुभएको छ । सबैले पुजाआरधाना गरि प्रसाद ग्रहण गरिएको उक्त कार्यक्रमको सभापतित्व क्षेत्रीय अध्यक्ष श्री प्रसाद शिवाकोटी ले गर्नुभएको थियो भने संचालन जिल्ला सचिव भुपाल शिवाकोटीले गर्नुभएको थियो ।

