भद्रपुर,

झापाको भद्रपुर नगर क्षेत्रका मारवाडी समुदायका महिलाहरुले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई बन्धनमा बाधेका छन् ।

हिन्दु धर्मावलम्बीहरुले आइतबार मनाउने रक्षाबन्धन एवम जनैपूर्णिमाको अवसरमा भद्रपुर मारवाडी महिला मञ्च तथा मारवाडी युवती मञ्चमा आवद्ध महिलाहरुले सशस्त्र प्रहरी र नेपाल प्रहरीका कर्मचारीको नाडीमा राखी बाँधेर उनीहरुलाई बन्धनमा बाँधिदिएका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल गण हेकुवा झापा नम्बर २ गण परिसरमा शनिवार आयोजित रक्षाबन्धन कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुलाई मारवाडी महिलाहरुले संयुक्त रुपमा राखी बाँधेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सशस्त्र प्रहरी उपरीक्षक थक्सुलाई भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रमाया श्रेष्ठले समेत राखी लगाएकी थिइन् ।

त्यस्तै सशस्त्र प्रहरीमा कार्यरत विभिन्न दर्जाका प्रहरी कर्मचारीलाई पनि सामूहिक रुपमा महिलाहरुले राखि लगाएका थिए । त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूसहित प्रहरी जवानहरुलाई पनि महिलाहरुले राखी लगाएका थिए ।
भद्रपुर मारवाडी महिला मञ्चकी अध्यक्ष निक्की साहेवालाको अध्यक्षता तथा भद्रपुर नगर उप्रमुख चन्द्रामाया श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक थक्सु, नेपाल मारवाडी महिला मञ्चकी उपाध्यक्ष निर्मला जोशी, भद्रपुर मारवाडी संघका सचिव पंकजकुमार शर्मा, निलम गोयल लगायतले रक्षाबन्धको महत्वको बारेमा प्रस्टाउनु भएको थियो ।

