Aamsanchar

सिडिओ र डिएसपीले नै श्रीमती छोडेर भागेपछि…

Author Image
बुधवार, भदौ १३, २०७५

हुम्ला,

सीमा सुरक्षा वार्ताका लागि गएका प्रमुख जिल्ला अधिकारीको टोलीका सदस्य श्रीमतीलाई हिल्सा नाकामा छोडेर भागेका छन् ।

सीमा क्षेत्रमा हुने सबै समस्या समाधान नहुँदासम्म हेलिकप्टर पनि चढ्न नदिने र हिल्साबाट सदरमुकाम सिमकोट आउने नदिने भन्दै नाराबाजीसहित महिलाहरुले वार्ता गर्न गएको टोली बसेको स्थान सीमा प्रहरी चौकी हिल्सा घेरेपछि आफूसँगै रहेका श्रीमतीलाई हिल्सामै छोडी प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गाना र प्रहरी प्रमुख डिएसपी रविन श्रेष्ठ भागेको स्थानियहरुले बताएका छन् ।

सीमावर्ती क्षेत्रका जनताको समस्या समाधान, लागु औषध ओसार पोसार तथा अन्तरदेशीय अपराध नियन्त्रणका बिषयवस्तु लिएर सिडिओ नेतृत्वको टोली वार्ताका लागि भदौ ८ गते चीनको स्वशासित क्षेत्र ताक्लाकोट गएको थियो ।

नेपाल र चीनको सिमाना हिल्सामा बसोबास गर्ने स्थानीयसंगै सम्पूर्ण हुम्लाबासी र कर्मचारीलाई आवतजावतमा सहजता, खाद्यान्न र दैनिक उपभोग्य सामान आयातमा सहजताका लागि पहल गर्न ताक्लाकोट हिडेको सिडियो सहितको टोलीलाई स्थानीय महिलाले आफूहरुको दुःख पीडा चिनियाँ अधिकारीलाई सुनाइदिन आग्रह गरेका थिए । स्थानिय महिलाको आग्रह लगत्तै सिडियोले ‘जुन ठाउँका बासिन्दा हो त्यही ठाउँ गएर बस’ भनेर हप्काएपछि स्थानीय महिलाहरु आकोशित बनेका थिए ।

आक्रोशित स्थानियएले बर्षेनी जिल्लाका सिडिओ, प्रहरी प्रमुख (डिएसपी), एलडिओले सीमा वार्ताका नाममा आफ्ना आफन्त र श्रीमतीलाई मानसरोवर कैलाश घुमाउने बाहेक अन्य कुनै उपलब्धी नभएको भन्दै सीमा क्षेत्रमा हुने सबै समस्या समाधान नहुँदासम्म हेलिकप्टर पनि चढ्न नदिने र हिल्साबाट सदरमुकाम सिमकोट आउने नदिने भन्दै हिल्सामा घेराउ गरेर नाराबाजी गरेका थिए ।

महिलाहरुले वार्ता गर्न गएको टोली बसेको स्थान सीमा प्रहरी चौकी हिल्सा घेरेपछि आफूसँगै रहेका श्रीमतीलाई हिल्सामै छोडी प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गाना र प्रहरी प्रमुख डिएसपी रविन श्रेष्ठ भागेको बताईन्छ ।

प्रमुख जिल्ला अधिकारीको टोलीले हिल्साका स्थानीयको माग सम्बोधन नगरेसम्म उनीहरुका श्रीमतीलाई हिल्साबाट नछोड्ने स्थानियहरुले बताएका छन् ।
स्थानीयको आन्दोलनपछि प्रमुख जिल्ला अधिकारी ढुंगानाकी श्रीमतीले हिल्साबासीको माग सम्बोधन आफूले गर्न लगाउने आश्वासन दिएपछि उनीसहित डिसएसपी श्रेष्ठकी श्रीमतीलाई सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेल र सिमकोट गाउँपालिकाका अध्यक्ष पदम लामाको पहलमा हिल्साबाट सिमकोट ल्याउने पहल भएको बताईन्छ ।

वर्षेनी सीमा वार्ताका नाममा प्रमुख जिल्ला अधिकारीको टोलीले आफ्ना आफन्त र श्रीमतीलाई मानसरोवर कैलाश घुमाउने र स्थानीयवासीले दुःख पाउने परम्परा चलिआएको स्थानियहरुको दुखेसो छ । यस पटक पनि चिनियाँ पक्षले वार्ताका लागि प्रहरी प्रमुखसहित तीन अफिसरलाई वार्ताका लागि बोलाएपनि प्रजिअ ढुंगाना, डिएसपी श्रेष्ठ र जिल्ला अनुसन्धान प्रमुख तिलक केसी दम्पत्तीसहित ताक्लाकोट गएका थिए।

Views: 219

प्रतिक्रिया (०)