Aamsanchar

सासूको हत्या आरोपमा महिला पक्राउ

Author Image
शनिवार, भदौ १६, २०७५

दाङ, 

आफ्नै सासूलाई बोक्सीको आरोप लगाइ हत्या गरी फरार भएकी एक महिलालाई आज इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी सार्वजनिक गरेको छ ।

दाङको दङ्गीशरण गाउँपालिका वडा नं ३ की ६९ वर्षीया खोपी रावतलाई हत्या गरी फरार रहेकी बुहारी टङ्की रावतलाई आज इलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा घटनाका बारेमा जानकारी दिनुहँुदै इप्रका तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले गत भदौ २ गते झारफुक गराउन भनी घरबाट सल्यानको कपुरकोट पुगेका सासूबुहारी भोलिपल्टसमेत घर नफर्केको र उनीहरुको साथमा रहेको मोबाइ स्वीच अफ भएको भन्दै परिवारका सदस्यले इलाका प्रहरी कार्यालय तुलसीपुरमा खोजतलासका लागि जाहेरी दर्ता गराएका थिए ।

सोहीअनुरुप प्रहरीले खोजतलाश तथा अनुसन्धानलाई तीव्र पारेको थियो । अनुसन्धानका क्रममा शुक्रबार बिहान सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नं २ को शिव मन्दिर सामुदायिक वनको भकमको भिर जङ्गलमा खोपी रावतको शव फेला परेको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार शवको प्रकृति हेर्दा निजलाई कोही कसैले कर्तव्य गरी मारेको हुनसक्ने आशंका गरेको थियो । ४० वर्षीय टङ्कीमाथि शङ्का गरी खोजतलाश गर्दा उनी कपिलवस्तु जिल्लाको कृष्ण नगरमा लुकिछिपी बसेको अवस्थामा आज इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेकी टङ्कीले आफूले सासूको लाँठी र हसियाँ प्रहार गरी गत भदौ ५ गते हत्या गरेको प्रहरीसमक्ष बयान दिएकी छन् । उनले प्रहरीसमक्ष आफू सधँै लगातार बिरामी परिरहने र सोही क्रममा धामीझाँक्री कहाँ जारफुक गराउन जाँदा सासू नै बोक्सी रहेको र निको नहुने बताएपछि आफूले योजना बनाएर हत्या गरी फरार रहेको बताएकी हुन् ।

पक्राउ परेकी टङ्कीलाई घटनास्थल सल्यान जिल्लामा पर्ने भएकाले कारवाहीका लागि आज नै जिल्ला प्रहरी कार्यालय सल्यानमा पठाइएको प्रहरी नायब सापकोटाले जानकारी दिनुभयो ।

Views: 116

प्रतिक्रिया (०)