मोरङ ।

मोरङमा एक प्रेमीले निर्मम रुपमा प्रेमिकाको हत्या गरेका छन् । ग्रामथान गाउँपालिकामा यही भदौ १ गते हत्या गरिएकी विराटनगर १३ की २३ वर्षीया शिखा घिमिरेलाई उनका प्रेमीले पहिला विष खुवाएको र पछि चिच्चाउन थालेपछि छुरी प्रहार गरी हत्या गरेको खुलेको छ ।

शिखा उनका प्रेमी भनिएका दिनेश भट्टराईले पहिले विष खुवाएर चिच्याउन थालेपछि छुरी हानेको बयान दिएका छन्। भट्टराईले शिखा र आफूबीच प्रेमसम्बन्ध रहेको र धोका हुने शंका लागेर हत्याको योजना बुनेको सरकारी वकिलको कार्यालयले तयार पारेको ६ पृष्ठ लामो अभियोग पत्रमा उल्लेख गरिएको छ ।
उनले बयानका क्रममा शिखालाई अष्ट्रेलिया जानका लागि आइएलटिएस पढाउनका लागि आफूले ४० हजार खर्च गरेको पनि दाबी गरेका छन्। ‘शिखालाई काठमाडौंको टिकट काटेर पठाउने अघिल्लो दिन राति मेरो मनमा धेरै कुरा खेल्यो, निजले धोका दियो भने म बर्बाद हुन्छु, पैसाको नास हुन्छ, मेरो डिप्रेसन ठीक नभई अष्ट्रेलिया जान पाउँदिनँ, मनमा टेन्सन भए डिप्रेसन ठीक हुँदैन मलाई शिखाले धोका दिन्छ म अब बर्बाद भए भन्ने लाग्यो’, प्रहरीलाई भट्टराईले दिएको बयानमा उल्लेख छ, ‘अन्ततः मैले शिखालाई नमारी सुख पाउँदिन निजलाई मार्छु भन्ने निष्कर्षमा पुगी कुनै एकान्त स्थानमा लगेर मार्छु र म पनि मर्छु भन्ने मनमा योजना बनेको हो।’

आरोप भट्टराईले शिखालाई मार्ने योजनाका साथ भदौ १ गते बिहान सिलगढी जान लागेको राजमार्गसम्म आफू लगिदिन आग्रह गरेको बयान दिएका छन् । आफूले झोलामा धारिलो हतियार दाउ, छुरा, तिखो हतियार पेचकस, बोरा सिलाउने खापसियो र कमाण्डो नामको विषादीसमेत राखेको बयानमा उल्लेख छ। शिखाको खुट्टामा घाउ भएको र त्यही घाउ निको बनाउन भन्दै विष खान लगाएको भट्टराईले बयान दिएका छन्।
विषादी खाएपछि शिखाले पेट पोल्यो विष खान दिएको हो कि के हो भनी कराउन थालेपछि झोलाबाट छुरी निकाली चारपटक छुरा उनको घाँटीमा प्रहार गरेको उनले बयान दिएको प्रहरीको अभियोग पत्रमा उल्लेख छ ।

