Aamsanchar

महिला तथा बालबालिका हराउने क्रम बढ्दो

Author Image
आइतवार, साउन २३, २०७३

इलाम ।
download

गत आव २०७२÷७३ मा इलामबाट १२५ जना महिला तथा बालबालिका हराएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार हराएकामध्ये ४९ जना फेला परेको र ७६ जना अझै पनि हराइरहेका छन् ।

प्रहरीका अनुसार चालु आव सुरु भएको तीन हप्ता बित्न नपाउँदै सातजना महिला हराएका छन् । हराएका महिला तथा बालबालिकाका अभिभावकले खोजी गरिदिन आग्रह गर्दै प्रहरी कार्यालयमा निवेदन दिएका छन् । हराउनेमा १६ देखि ४० वर्ष उमेर समूहका महिला रहेको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलकुमार यादवका अनुसार विगत तीन वर्षको अवधिमा इलामबाट १४५ जना महिला हराएका छन् । बेरोजगारी, अशिक्षा र परिवारको आर्थिक अवस्था कमजोर भएका कारण हराउने क्रम बढेको हो । भारतको दार्जिलिङस्थित पिएसडी कम्पनीमा रोजगारीमा लगाइदिने बहानामा यहाँका गाउँ गाउँबाट युवा–युवतीलाई भारत लैजाने गरेको समेत पाइएको छ ।

इलामको पूर्वमा दर्जनौँ खुला सीमा नाका रहेकाले दलालले ललाइफकाइ र रोजगारीमा लगाइदिने बहानामा महिला तथा बालबालबालिकालाई भारत लैजाने गरेको माइती नेपाल पशुपतिनगरले जनाएको छ ।

रोजगारीको प्रलोभनमा परी भारततर्फ हिँडेका ५३ जना महिला तथा बालिकालाई प्रहरीको सहयोगमा पूर्वी भारतीय सीमावर्ती नाकाबाट उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको माइती नेपालका संयोजक होम ढकालले जानकारी दिनुभयो ।

कतिपय महिला तथा बालबालिका घरमा झगडा गर्ने, रिसाएर हिँड्ने र हराउने भएपछि अभिभावकले खोजी गरिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दिने गरेका छन् ।

अघिल्लो आव २०७१÷७२ मा पनि १२५ जना महिला हराएका थिए । जसमा ८६ जना फेलापरे पनि ३९ जना अहिलेसम्म भेटिएका छैनन् । सोही आवमा पूर्वी भारतीय सीमा क्षेत्रबाट ३५ जना महिला र बालिकाको उद्धार गरिएको थियो । त्यस्तै आव २०७०÷७१ मा जिल्लामा ११६ जना हराएकामा ८५ जना भेटिएका थिए भने ३१ जना अझै भेटिएका छैनन् । यो वर्ष भारत हिँडेका १५ जनालाई सीमा नाकाबाट उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको छ ।

महिला बेचबिखन नियन्त्रणका लागि माइती नेपालले सीमावर्ती जिर्मले, समालबुङ, श्रीअन्तु, गोर्खे, पशुपतिनगर, इरौँटार, जमुनालगायतका गाविसमा महिलाकै सक्रियतामा निगरानी समूहसमेत गठन गरी नियमित रेखदेख गरिरहेको ढकालले बताउनुभयो । केन्द्रले अहिलेसम्ममा करिब एक सय जनाभन्दा बढी महिलालाई सीप प्रदान गरेको माइती नेपाल आवधिक गृहले जनाएको छ । रास

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर