लहान ।
सप्तरी जिल्ला बार एसोसिएसनको शुक्रबार भएको निर्वाचनमा खसेको मतमध्ये दुई मत बदर भएपछि सबैलाई अचम्मित पारेको छ ।
बारका ८१ मतदातामध्ये ७९ जनाले मतदान गरेका थिए, जसमा दुई मत बदर भएको निर्वाचन अधिकृत रामकुमार यादवले सुनाएपछि उपस्थित सबै अचम्ममा परेका थिए । उहाँले एक जना मतदाताको मतपत्रमा चिह्न लगाउने कोठामा नभई उम्मेदवारको नाममै चिह्न लगाएको र अर्काे मतदाताले मतपत्रमा अध्यक्षमा चिह्न नलगाई दुवै पक्षका उम्मेदवारको सबै कोठामा चिह्न लगाएकाले मत बदर भएको अवगत गराउनुभयो ।
निर्वाचनको मत परिणाम अनुसार अध्यक्षमा रामप्रसाद चौधरी, उपाध्यक्षमा कामेश्वर यादव, सचिवमा उदितनारायण यादव र कोषाध्यक्षमा दिगम्बर यादव निर्वाचित भएका छन् ।
सप्तरीका कानुन व्यवसायी तथा जिल्ला बार एसोसिएसनका निर्वतमान अध्यक्ष कृपानारायण यादव भन्नुहुन्छ–“समाजमा विद्वान्को रुपमा परिचित कानुन व्यवसायीको चुनावमा मत बदर हुनु लजास्पद कुरा हो ।”