Aamsanchar

संविधानसँग बाझिने प्रदेशका कानून खारेज हुने

Author Image
शुक्रवार, कार्तिक १६, २०७५

विराटनगर,

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानसँग बाझिने गरी प्रदेशले बनाएको कानून स्वतः खारेज हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घले संविधानअनुसार कानून निर्माण गर्ने हुनाले यस सम्बन्धमा प्रदेश सरकार अलमलिनुु हँुदैन भन्नुभयो । मन्त्री ढकालले प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन र प्रहरी ऐन कानून निर्माण सम्बन्धमा सरकारले आन्तरिक गृहकार्य शुरु गरिसकेको बताउनुभयो ।

प्रदेश सरकारको भावना र चाहानाप्रति सङ्घीय सरकार गम्भीर रहेको भन्दै मन्त्री ढकालले आवश्यक कानून निर्माण गरी यथोचित समयमा प्रदेश सरकारको मागलाई सम्बोधन गर्ने प्रष्ट पार्नुभयो ।

एक प्रश्नको जवाफमा कानूनमन्त्री ढकालले छिटो कानून निर्माण गर्दा दुर्घटना हुने सम्भावना बढी हुन्छ भन्नुभयो । उहाँले न्यायालयका न्यायाधीश र नेपाल सरकारअन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीको सम्पत्ति विवरण सरकारसँग रहेको बताउँदै आवश्यकपरेमा मात्र सार्वजनिक गर्न सकिने बताउनुभयो । उहाँले सङ्घीय सरकारले हालसम्म १०० कानून निर्माण गरिसकेको जानकारी दिनुभयो ।

Views: 121

प्रतिक्रिया (०)