Aamsanchar

विपद् सुरक्षा सचेतना सप्ताहव्यापी कार्यक्रम शुरु

Author Image
शुक्रवार, कार्तिक १६, २०७५

काठमाडौँ, 

तिहार पर्वमा प्रयोग हुने आगो तथा बिजुलीजन्य क्रियाकलापबाट हुनसक्ने आगलागीमा सावधानी अपनाउन, काठमाडौँमा अग्नि विपद् सुरक्षा सचेतना सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ ।

कामपाको व्यवस्थापन समितिको अगुवाइमा काठमाडौँ, ललितपुर र भक्तपुरका बारुणयन्त्र कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका विपद् व्यवस्थापन महाशाखा, नेपाल स्काउट, रेडक्रस, वडास्तरीय विपद् व्यवस्थापन समितिसहित स्थानीयको सहभागितामा आजदेखि कार्यक्रम शुरु भएको हो ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आगो मानव सर्जित विपत्ति भएकाले हरेक व्यक्तिले आगोलाई पूर्ण नियन्त्रणमा राख्न सक्ने भन्दै सचेत भएर प्रयोग गर्न आग्रह गर्नुभयो । उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पर्वमा रमाइलो गर्दा आगोको प्रयोगमा लापर्वाही गर्न नहुने बताउँदै सानो गल्तीले जीवनभर बिर्सन नसकिने क्षति पुग्न सक्ने हुँदा सावधानी अपनाएर आगोको प्रयोग गर्नुपर्ने बताउनुभयो ।

सचेतना कार्यक्रमको शुरुआतमा निकालिएको ¥याली जुद्ध बारुणयन्त्र कार्यालयबाट निस्किएर धर्मपथ, सिद्धिचरण चोक, लगन, ब्रह्मटोल, ह्युमत, जैसीदेवल, भीमसेनस्थान हुँदै वसन्तपुरको मरु गणेश पुगेको थियो । त्यसपछि प्याफलबाट यट्खा, टेङ्गाल, बाङ्गेमुढा, इन्द्रचोक हुँदै जुद्ध बारुणयन्त्र कार्यालय आइपुगेको थियो ।

कार्यक्रममा आगोजन्य व्यवहार, सम्भावित आगलागीका कारण र सल्किएको आगोलाई तत्काल नियन्त्रण गर्न अपनाइने विधिका विषयमा जानकारी प्रवाह गरिनेछ । गएको वर्ष तिहारमा २८ वटा आगलागी भएका थिए । त्यसमा पनि बल्खुमा भएको आगलागी सबैभन्दा ठूलो थियो । बारुणयन्त्र कार्यालयका प्रमुख बद्रीमान नगरकोटीका अनुसार दियोबाट सल्किएको त्यो आगलागीमा १५ वटा ग्यास सिलिण्डर पड्किएका थिए भने करीब ४० घर जलेर ध्वस्त भएका थिए ।

Views: 388

प्रतिक्रिया (०)