Aamsanchar

त्रिभुवन माविको शुभकामना आदान–प्रदान र विद्यार्थीलाई स्वागत

Author Image
सोमवार, कार्तिक १९, २०७५

बुधबारे।

झापाको बुद्धशान्ति–१ स्थित त्रिभुवन माध्यमिक विद्यालयले नेपालीहरुको विभिन्न चाडपर्वको उपलक्ष्यमा सोमबार शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।

चाडपर्वको अवसरमा विविध सांस्कृतिक कार्यक्रमका साथ शुभकामना आदान–प्रदान र कक्षा–११ का नवप्रवेशी विद्यार्थीलाई स्वागत गरिएको हो ।

कार्यक्रममा कक्षा–११ मा भर्ना भएका ५४ जना विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । त्रिभूवन माविमा यसै शैक्षिक सत्रदेखि कक्षा–११ को पठनपाठन सञ्चालनमा आएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले गरेका थिए भने कार्यक्रमको औचित्यबारे शिक्षक अभिभावक संघका अध्यक्ष नन्दकुमार तिम्सिनाले स्पष्ट पारेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै विद्यालयलाई गाउँपालिकाबाट भरपुर सहयोग हुने बताए । त्यस्तै, विशिष्ट अतिथि वडा नं. १ का वडाध्यक्ष भीमकुमार नेवारले विद्यालयलाई वडा प्रतिनिधिहरु तथा वडा कार्यालयको सदैव सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

विद्यार्थीहरुको प्रतियोगितात्मक नृत्य र गायन कार्यक्रम विद्यालयका शिक्षकद्वय तिलचन ढुङ्गेल र निश्चल पौडेलले सञ्चालन गरेका थिए ।

विद्यालयले यसै वर्ष खरीद गरेको स्कुल बसको कर्जा भुक्तानी गर्न तिहारको उपलक्ष्यमा ‘देउसी भैली कार्यक्रम’ सञ्चालन गर्ने भएको छ भने उक्त कार्यका लागि समुदायका सबैको सहयोगको अपेक्षा गरिएको प्रअ आचार्यले बताए ।

कार्यक्रममा पूर्व प्रधानाध्यापक, पूर्व पदाधिकारीहरु, अभिभावक, समाजसेवी, संस्थागत प्रतिनिधि तथा पूर्व विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Views: 124

प्रतिक्रिया (०)