Aamsanchar

बिर्तामोड नपाको कार्यविधि पारित

Author Image
बिहिवार, मंसिर १३, २०७५

बिर्तामोड।

बिर्तामोड नगरपालिकाले बिभिन्न २० वटा कार्यविधि तथा निर्देशिका पारित गरेको छ । जस अन्तर्गत विपद् ब्यवस्थापन कोष सञ्चालन कार्यविधि, स्थानीय तह स्वास्थ्य संस्था, दर्ता, अनुमति तथा नवीकरण निर्देशिका, घ वर्गको निर्माण ब्यवसायी इजाजत कार्यविधी, उपभोक्ता समिति गठन परिचालन तथा ब्यवस्थापन कार्यविधी, टोल बिकास संस्था संचालन कार्यविधी, खेलकुद बिकास निर्देशिका, सूचना तथा सञ्चार कार्यविधी रहेका छन् ।

त्यसैगरी, बिद्युतीय हाजिरी प्रणाली प्रयोग गर्ने कार्यविधी, नगर प्रहरी गठन तथा सञ्चालन कार्यविधी, श्रमिक सञ्चालन कार्यविधी, करारमा प्राविधिक कर्मचारी ब्यवस्था गर्ने कार्यविधी, बजार अनुगमन निर्देशिका, सवारीसाधन परिचालन र ब्यवस्थित गर्न बनेको कार्यविधी कृषि, पशुसेवा सञ्चालन सम्बन्धी कार्यविधीहरु रहेका छन् ।

नगरपालिकामा नयाँ नेतृत्व आएपछि पहिलो पटक यी कार्यविधी तथा निर्देशिका निर्माण गरी लागू गरिएको नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । उनका अनुसार कतिपय कानून कार्यान्वयन गर्न निर्देशिका र कार्यविधीको अभावमा समस्या भइरहेको बेला अब सहजता हुनेछ ।

त्यस्तै सञ्चारमाध्यमको क्षेत्रको बिकासका र सञ्चारकर्मीहरुको हीतका लागि सूचना तथा सञ्चार कार्यविधि लागू गरिएको छ ।
सूचना तथा सञ्चार कार्यविधि २०७५ नामक यस कार्यविधि लागू भएपछि नगर क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको हक र हीतका लागि नीतिगत ब्यवस्था गरिएको बिर्तामोड नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले बताए । उनका अनुसार सो कार्यविधीमा ब्यवस्था भए अनुसार अब नगरपालिकाले प्रत्येक बर्ष एकजना सञ्चारकर्मीलाई बिकास पत्रकारिता पुरस्कार प्रदान गर्नेछ ।

त्यस्तै नगरका बिकासमूलक समाचारलाई प्राथमिकता दिने एकजना पत्रकार र एउटा संचारमाध्यमलाई पुरस्कृत गरिने नीतिगत ब्यबस्था भएको छ । साथै, अन्य सहयोगात्मक र भ्रमणका कार्यक्रमहरु गरिने कार्यविधीमा उल्लेख छ ।

Views: 150

प्रतिक्रिया (०)