Aamsanchar

मदिरा नियन्त्रण भए हिंसा कम हुने

Author Image
शुक्रवार, मंसिर १४, २०७५

सागर गौतम/ अर्जुनधारा ।

झापाको अर्जुनधारामा नगरमा भएको एक कार्यक्रममा उपस्थित विज्ञहरुले मदिरा नियन्त्रण भएर गए हिंसा त्यसै नियन्त्रण हुने कुरामा जोड दिएका छन् ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा विरुद्ध भएको अन्तरक्रियामा उपस्थित वक्ताहरुले हिंसाका धेरै रुप मध्ये मदिरा पहिलो पर्न गएको हुदाँ त्यसलाई नियन्त्रण गर्न सके धेरै मुद्दामामिला र हिंसा न्यूनिकरण हुने कुुरामा जोड दिएका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद ढकालले तीन वर्ष यताको तथ्याकको नतिजा हेर्दा मदिरा सेवनबाट हुने गरेको घटना बढी भएको हुँदा मदिरा हिंसाको पहिलो कारक भएको बताए ।

प्रमुख ढकालले ०७२÷७३ मा ९७ मुद्दामा ६६ मदिराबाट, ०७३÷७४ मा १०५ मध्ये ७२ मदिराबाट, ०७४÷७५ को ६९ मध्ये ४३ मदिरा सेवनबाट भएको तथ्याङ्क सार्वजनिक गर्दै महिला हिंसा अन्तर्गत करणीमा श्रावणमा २९, भद्रौमा १६, असोजमा ११, कात्तिकमा १२ मुद्दा मदिरा नै भेटिएको हुँदा मदिरालाई नियन्त्रण गर्नुपर्ने धारणा राखेका थिए ।

संविधान सभाका सदस्य प्रेमबहादुर गिरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम आफैमा प्रभावकारी भएको हुँदा यस्ता कार्यक्रमले एक अर्कामा दोषारोपण गर्ने कार्य अन्त्य भएर जाने बताए ।

समृद्धिको बाटोमा मुलुक दौडिरहेको बेला तल्लो स्तरबाटै चेतना प्रवाह गरि हिंसालाई अन्त्य गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद बृख प्रधानले हिंसा आफैमा डरलाग्दो रोग भएको हुँदा गाउँ, टोल, नगर, शहर सबैमा हिंसा रहेको हुँदा त्यसको अन्त्यको लागि सासु–बुहारी, छोरा–बुबा बीचको सुमधुर सम्बन्ध बनाउने खालका कार्यक्रममा ध्यान केन्द्रीत हुनुपर्ने बताए ।

उनले मदिराबाटै हिंसा उत्पन्न भएको तथ्य अगाडि छ भने नगरले मदिरा बिक्री वितरण केन्द्र निश्चित स्थानमा तोकी बिक्री वितरणका लागि इजाजत दिनुपर्ने बताउँदै वर्षौदेखि जाति सम्प्रदायले आफ्नो संस्कृतिलाई चलायमान गराउँदै आएको मदिरालाई नियन्त्रण गरेर अपहेलना गर्न नहुने बताए ।

नगर प्रमुख हरिकुमार रानाको सभापतित्वमा भएको कार्यक्रममा महिला नेतृ नेपाली कांग्रेस जिल्ला सदस्य सरस्वती सिटौला गोले, अर्का महिला नेतृ नेकपाका कुसुम राई, प्रेस क्लब अध्यक्ष कुमार भट्टराई, नेकपाका नगर नेता प्रेमसागर सापकोटा लगायतले गाँजा र ड्रक्सको इन्ट्रि पोइन्ट मदिरा भएको बताउँदै गाउँघरमा फैलिएको गाँजा सेवन गर्नेहरुलाई गाउँलेले नै नियन्त्रण गर्नुपर्ने बताए ।

अन्तरक्रियामा चेतना नेपालका इन्द्रप्रसाद ओली, बिर्तामोड ईलाका प्रहरी कार्यालयका प्रमुख कृष्णप्रसाद कोइराला, शान्ति सामुदायिक वनका तुलसीप्रसाद खतिवडा लगायतले उत्तरदायि र जिम्मेवार समाज निर्माणमा सबै जुटे अर्जुनधारा नगरपालिका शान्त नगरपालिका बन्नमा दुईमत नहुनेमा जोड दिए ।

कार्यक्रमको अध्यक्ष समेत रहेका नगर प्रमुख हरि कुमार रानाले कुरीति र वेथितिलाई समाधान गर्ने लक्ष्यको रुपमा अगाडि बढिरहेको बताए । लैगिक हिंसा सम्बन्धीको १६ दिने अभियानक्रममा रहेको बताउँदै प्रमुख रानाले मदिराजन्य पदार्थको नियमन संम्भवत वडा–८ बाट सुरुवात गरी अगाडि बढ्ने बताए । कार्यक्रमको सञ्चालन भने नगरपालिकाका खरिदार खगेन्द्र लिङ्देनले गरेका थिए

Views: 122

प्रतिक्रिया (०)