बिर्तामोड।
छाडा छोडिएका (भुस्याहा) कुकुरको टोकाइबाट झापाको शरणामतीमा एक वालकको मृत्यु भएको छ । कुकरको टोकाइबाट अन्य ५ जना घाइते भएका छन् । कुकुरको कारण स्थानीयवासी अहिले त्रासमा छन् । कुकुरको टोकाइबाट दर्जनौं घर पालुवा जनावर समेत मरेका छन् ।
शरणामती–९ निवासी डिल्लीराम चुडालका ६ वर्षीय छोरा संस्कार चुडालको कुकुरको टोकाइबाट रेविज भई मृत्यु भएको हो । कुकुरको टोकाइबाट घाइते हुनेमा सोही ठाउँ निवासी खीना सुवेदीका ५ वर्षीय छोरा दीप सुवेदी, नेत्र सिटौलाका ६ वर्षीय छोरा प्रिन्स सिटौला, पवन दत्तका ४ वर्षीय छोरा र ५० वर्षीय चित्रबहादुर माझी रहेका छन् । त्यस्तै कुमारी माझीका छोरा रेविज लागेको सुँगुरले टोकेर घाइते भएका छन् । चुडालको कुकुरले टोकेपछि रेविज लागेर मृत्य भएको स्थानीयवासी छत्र पाण्डेले जानकारी दिए । कुकुरले टोकेपछि बालकलाई शुरुमा कनकाई नगरपालिका–९ निवासी हरिकृष्ण मण्डलकोमा झारफुक गर्न लगिएको र रेविजले ग्रस्त बनाएपछि मात्र अस्पताल पु¥याएको बताइएको छ ।
बालकलाई गत बैशाखमा कुकुरले टोकेको थियो । कुकुरले टोके लगत्तै बालकलाई मण्डलकोमा झारफुक गर्न लगेको र निको नभएपछि उनलाई बिर्तामोडस्थित वीएण्डसी मेडिकल कलेज र धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान पु¥याएको बताइएको छ । बालकको त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंस्थित टेकु अस्पतालमा लैजाने क्रममा मृत्यु भएको पाण्डेले जानकारी दिए ।
गत चैत्र महिनादेखि शरणामती गाविसको मदरगाछ बजार आसपासमा सयभन्दा बढी भुस्याहा कुकुरले दुःख दिने गरेको स्थानीयबासीको भनाइ छ । कुकुरको टोकाइपछि रेविज लागेर मृत्यु भएका बालक देवकोटा एजुकेशन फाउण्डेशका विद्यार्थी हुन् । उनी सो विद्यालयमा युकेजीमा अध्ययनरत् रहेको बताइएको छ ।
कुकुरले बालकलाई घाँटी र हातमा टोकेको थियो । कुकुरको टोकाइबाट घाइते बनेका बालकलाई मण्डलले दिएको औषधि र झारफुकले केही दिन आराम भए पनि पानी देख्दा डराउने, तर्सिने र बर्बराउन थालेपछि उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । त्यहाँ चिकित्सकले बालकमा ८० प्रतिशत भन्दामाथि रेविजको संक्रमण फैलिसकेकाले थप उपचारका लागि काठमाडौंस्थित टेकु हस्पिटल रेफर गरेको बताइएको छ ।
यता भुस्याहा कुकुरको टोकाइबाट घाइते भएका अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेमध्ये पवन दत्तको छोराको मुखमा कुकुरले टोकेको र दाँत समेत निकालेकाले अवस्था गम्भीर रहेको पाण्डेले बताए । उनको बिर्तामोडस्थित वीएण्डसी मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ । बालकको उपचारका लागि एक लाख रुपैयाँभन्दा बढी खर्च भएको समेत बताइएको छ ।
२ सुगुर र ५० भन्दा बढी खसी बाख्रा मरे
भुस्याहा कुकुरको टोकाइपछि रेविज लागेर शरणामतीमा स्थानीयबासीले पालेका ५० भन्दावढी खसी बाख्रा मरेका छन् । कुकुरले पशु चौपायालाई समेत टोक्न थालेपछि रेविज लागेर यतिका धेरै खसी बाख्रा मरेको यो पहिलो घटना हो ।
अमर यादव, खलिल मिया र बेनु रिजाल लगायतका २० भन्दाबढी स्थानीयवासीले पालेका खसी–बाख्रा मरेको बताइएको छ । शरणामतीको मदरगाछ आसपासका स्थानीयले पालेका अधिकांश पशु चौपायालाई कुकुरले टोकेकाले रेविजको त्रास फैलिएको छ । कुकरले टोकेका चौपाया धमाधम मर्न थालेपछि स्थानीयबासीले स्थानीय निकायमा खवर गरे पनि गाविसले कुकुर नियन्त्रणका लागि चासो नदिएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।
पशु ऐनमा पशुलाई मार्ने व्यवस्था रहेनछ, बन्ध्याकरण त गर्न सकिन्थ्यो नि ? पाण्डेले भने – कुकुरले टोकेर मान्छे मर्दा हुने तर कुकुर मार्दा चाहिँ नहुने ?’ तत्काल भुस्याहा कुकुरको नियन्त्रण स्थानीय निकायले गर्नुपर्छ ।
यता भुस्याहा कुुकुरकै टोकाइबाट त्यस क्षेत्रका बालबालिका घाइते भएको र रेविजको भ्याक्सिन आ–आफ्नै तरिकाले लगाइएकाले कति मानिस घाइते छन् यकिन तथ्यांक आउन बाँकी रहेको शरणामती गाविसका लेखापाल यामनाथ रिजालले बताए । कुकुरको समस्या लामो समयदेखि को हो, नियन्त्रणका लागि जिल्ला पशु कार्यालय र जनस्वास्थ्य कार्यालयलाई खवर गरे पनि सुनुवाई नहुँदा दिन प्रतिदिन समस्या बढ्दै गएको छ– रिजालले भने ।
भुस्याहा कुकुरकै टोकाइबाट कुमारी माझीले पालेका दुईवटा सँुगुर मरेका छन् भने अर्को एउटा सँुगुर रेविज लागेर थलिएको छ । रेविज लागेको सुँगुरको टोकाइबाट माझीका छोरासमेत घाइते भएको बताइएको छ । माझी कनकाई नगरपालिका–५ का स्थानीयबासी हुन् ।
झारफुकको भर
कुकुरले टोके रेविज लाग्छ र रेविजविरुद्धको भ्याक्सिन लगाउनुपर्छ भन्ने चेतना नहुँदा शरणामतीबासी अझै पनि धामी झाँक्री कै भरपर्ने गरेको पाइएको छ । शरणामतीमा छाडा छोडिएको सयभन्दा बढी कुकुरले मानिसलाई टोकेर दिनहुँ घाइते बनाउन थालेपछि त्यहाँका स्थानीयबासी कनकाई नगरपालिका निवासी हरिकृष्ण मण्डलकोमा जाने गरेका छन् ।
ग्यारेन्टीसहित निको पार्छन् भन्ने भ्रमका कारण स्थानीयबासी मण्डलकोमा कुकुरले टोकेपछि झारफुक गर्न जाने गरेको स्थानीयबासीको भनाइ छ । डाक्टरकोमा गए धेरै पैसा लाग्ने र मण्डलकोमा गए एक हजारसम्ममा उपचार हुने भन्दै अधिकांश मानिस कुकुरले टोके झारफुक गर्न मण्डलकोमा जाने गरेको बताइएको पाण्डेले बताए । पछिल्लो समय शरणामती–९का संस्कार चुडालको पनि झारफुक मै भरपर्दा रेविज लागेर मृत्यु भएको हो । चुडाल मात्र होइन त्यहाँका अधिकांश स्थानीयबासी चेतना अभावले कुकुरले टोके झारफुक गर्न मण्डलकोमा धाउने गरेका छन् ।
यता झारफुकमा संलग्न मण्डलले आफूले वर्र्षौदेखि यस्तो काम गर्दै आएको र धेरै मानिसलाई निको पारेका दावी गरेका छन् । त्यो बच्चा शुरुमा मैले नै झारफुक गरेको हुँ– उनले भने– ‘वालकका अभिभावकले भनेको नमान्दा नानी साह्रै भएछ हतार–हतार डाक्टरकोमा लान सल्लाह दिएँ पछि त्यस्तो घटना भएछ, मलाई पनि ज्यादै दुःख लागेको छ ।’ मण्डलले झारफुक गरेका विरामीलाई मुसुरीको दाल, चटपटे र झर्के थालमा २१ दिनसम्म खाना खान दिंँदैनन् । कुकुरले टोकेको बिरामीलाई उनले झारफुकपछि जडिबुटी समेत खान दिने गरेका छन् ।
विद्यार्थी बढी त्रसित
दिनानुदिन भुस्याहा कुकुरको टोकाइबाट आफ्ना साथीहरुको मृत्यु र घाइते हुने क्रम बढेपछि त्यसक्षेत्रका विद्यालय जाने बालबालिका सवैभन्दा बढी त्रसित बनेका छन् । कुकुरले विद्यालय जाँदा र आउँदा झम्टी–झम्टी लखेटेपछि विद्यार्थीमा त्रास फैलिएको हो । कुकुरले दुःख दिन थालेपछि विद्यार्थी मात्र होइन, अभिभावक पनि उत्तिकै चिन्तित छन् ।
शरणामतीको मदरगाछमा जनकल्याण मावि, गौतम बुद्ध अंग्रेजी निमावि र मुनामदन प्रावि सञ्चालनमा रहेका छन् । कुकुरले दिनहुँ दुःख दिन थालेपछि ती विद्यालयमा अध्ययनरत् विद्यार्थी स्कूल जान छाडेका छन् । जसका कारण विद्यालय सञ्चालनमा कठिनाई भएको बताइएको छ ।
आजैबाट काम थाल्छौं– सचिव पौडेल
शरणामती गाविसका सचिव हरिप्रसाद पौडेलले भुस्याहा कुकुर नियन्त्रणका लागि आफू आजैबाट लागीपर्ने बताएका छन् । पूर्वाञ्चलकर्मीको टेलिफोन सम्पर्कमा उनले भने – भुस्याहा कुकुरको समस्या सुनिएको थियो तर यति सारो होला भन्ने लागेकै थिएन । तत्काल सरोकारवालाको बैठक बोलाएर भोलिबाटै भु्स्याहा कुकुर नियन्त्रणको काम थाल्छौं सचिव पौडेलले भने ।
भुस्याहा कुकुर नियन्त्रणका लागि जिल्ला पशु सेवा कार्यालयलाई जानकारी गराएपनि सहयोग भने नपाएको पौडेलको भनाइ छ । कुकुरले दुःख दिन थालेपछि पशु प्राविधिक भरत प्रधान र जिल्ला पशु सेवा कार्यालयका डा. कुमारसिंह खत्रीलाई जानकारी गराएको थिएँ, वास्ता नगर्दा आज यस्तो अवस्था सिर्जना भयो– पौडेलले भने ।
कुकुर नियन्त्रण गर्ने काम स्थानीय निकायको हो– दाहाल
जिल्ला पशु सेवा कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक माधव दाहालले छाडा छोडिएका कुकुरको नियन्त्रण गर्ने काम स्थानीय निकायको भएको बताएका छन् । उनले भुस्याहा कुकुर नियन्त्रण गर्ने नाममा कुकुर मार्न नपाइने भएकाले त्यस्ता कुकुरको जनसंख्या नियन्त्रणको काम गर्न जिल्ला पशु कार्यालयले प्रविधिक सहयोग मात्र गर्न सक्ने बताएका छन् ।
स्थानीय निकायले कुकुरको बन्ध्याकरणका लागि शिविर राखे प्राविधिक सहयोग जिल्ला पशु सेवा कार्यालयबाट हुन्छ– उनले भने । उनले हामीसँगको कुराकानीमा अगाडि थपे– स्थानीय निकायले काम गर्दागर्दै समस्या परे हामी सघाउँछौ, हाम्रो सहयोगले पनि नपुगे विशेषज्ञको टोली बोलाएर भए पनि काम गराउँछौं ।