इलाम,
गत पुस २७ गते देखि आवरण अनशनमा रहनुभएका विजय थापाको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आज अस्पताल भर्ना गरिएको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित चिकित्सा शिक्षा विधेयकलाई हुबहु संसद्बाट पारित गर्न माग राख्दै आमरण अनशनमा रहनुभएका थापालाई निमोनियाको सङ्क्रमण देखिएपछि उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको हो ।
अस्पतालका डा विजेन्द्र शाहका अनुसार थापालाई निमोनियासहित अन्य रोगको समेत सङ्क्रमण देखापरेपछि तत्काल अस्पताल भर्ना गरिएको हो । केही दिनअघि नै स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकले अस्पताल भर्ना हुन अनुरोध गरे पनि थापाले अस्पतालको सेवा नलिने भन्दै उपचारमा रहनुभएको थिएन ।
गत २५ मङ्सिरदेखि इलाममै अनशनमा रहनुभएका डा गोविन्द केसीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । चिकित्सा शिक्षा विधेयकको परिमार्जनको माग गर्दै अनशनमा रहनुभएका डा केसीको समेत स्वास्थ्यमा समस्या परेपछि उपचारका लागि सोमबार इलाम अस्पताल ल्याइएको थियो ।