Aamsanchar

विद्यालयमा विभेद गरिएको छैन :अध्यक्ष आलम

Author Image
बुधवार, फागुन ८, २०७५

झापा ।

कचनकवल गाउँपालिका कार्यालयले गाउँपालिकाभित्र सञ्चालित कुनै पनि विद्यालयमा विभेद नगरिएको स्पष्ट पारेको छ । केही सञ्चारमध्यममा गाउँपालिकाले सामुदायिक विद्यालयमा विभेद गरेको समाचार प्रकाशन भएसँगै गाउँपालिका कार्यालयले यसको खण्डन गरेको हो ।

प्राविधिक धारको कक्षा सञ्चालनका लागि लक्ष्मी माविलाई अनुमतिसहितको सिफारिसपत्र दिन गाउँपालिकाले इन्कार गरेको भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए । ‘कुरा त्यो हुँदै होइन,’ अध्यक्ष आलमले भने, ‘सरकारले एउटा स्थानीय तहबाट एउटा विद्यालयलाई मात्र सिफारिस गर्नु भनेकाले हामीले त्यसको कार्यान्वयन गरेका मात्र हौँ ।’

गाउँपालिकाले यसअघि नै मोति माविलाई कृषि शिक्षा सञ्चालन गर्नका लागि सिफारिस दिइसकिएको जनाएको छ । पछि लक्ष्मी माविले पनि कृषि शिक्षा सञ्चालन गर्नका लागि गाउँपालिकसँग सिफारिस मागेको थियो । एउटा गाउँपालिकामा एउटा मात्र कृषि विद्यालय सञ्चालन गर्ने सरकारको निर्देशन पालना गरिएको गाउँपालिका अध्यष आलमले बताए ।

‘हामीले ०७४÷०७५ को बजेटमै मोति माविमा कृषि शिक्षा सञ्चालन गर्न भन्दै रकम छुट्यायौँ र सिफारिस पनि दियौँ,’ गाउँपालिका अध्यक्ष आलमले भने, ‘लक्ष्मी माविलाई भने सिविल इञ्जिनियरिङको विद्यालय बनाउने हाम्रो सोच छ ।’ शिक्षाका क्षेत्रमा गाउँपालिकाको आफ्नै गुरुयोजना रहेको गाउँपालिका उपाध्यक्ष निमसरी राजवंशीले बताइन् । भूगोलका आधारमा गाउँपालिकाले गुरुयोजना बनाएको उनको भनाइ छ ।

बनियानीमा गाउँपालिकाले विश्वविद्यालय नै माग गर्ने बताएका गाउँपालिका अध्यक्ष आलमले कृषि शिक्षा सञ्चालन गर्न सिफारिस नदिएको भन्दै केहीले कुरै नबुझी राजनीतिक ‘इश्यु’ बनाएको जिकिर गरे । सरकारले गाउँपालिकाभित्र एउटा विद्यालयले मात्र प्राविधिक धारको अनुमति पाउने भन्दै सूचना जारी गरेपछि सोहीअनुसार आफूहरु अघि बढेको उनले स्पष्ट पारेका छन् ।

माघ १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शैक्षिक प्रविधि शाखाले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालनका लागि आवेदन खुला गरेको थियो । गाउँपालिका वा नगरपालिकाभित्रका एक÷एक वटा सामुदायिक विद्यालयमा आगामी शैक्षिक सत्रबाट यो कार्यक्रम सञ्चालनका लागि देशभरका लागि १५० वटा कोटा निर्धारण भएको छ ।

Views: 101

प्रतिक्रिया (०)