बिर्तामोड।

झापाको बाह्रदशी गाउँपालिका–६ डाँगीबारीस्थित दिपजन अंग्रेजी माविको १२औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवमा मानव निर्मित रोबर्टको परीक्षण गरिएको छ ।

विद्यालयमा कक्षा ८ मा अध्ययनरत् गौरव धमला र कक्षा ९ मा अध्ययनरत् क्षितिज आचार्यले एक महिना लगाएर निर्माण गरेको रोबर्टको विद्यालयको १२औं वार्षिकोत्सवमा परीक्षण गरिएको हो । धमला र आचार्यले विज्ञान शिक्षक मोहन खड्का र कम्प्युटर शिक्षक जीवनप्रसाद खरेलको सहजीकरणमा एक महिना लगाएर निर्माण गरेको उक्त रोबर्टले बत्ती बाल्ने, निभाउने, अगाडि बढ्ने, पछाडि सर्ने कार्य गरेको थियो ।
हर्के नाम दिइएको रोबर्टले ती सबै कार्य गर्दा कार्यक्रममा उपस्थित अतिथिहरु मात्र होइन, अभिभावकहरु समेत दंग परेका थिए । उनीहरु भन्दै थिए– ‘विद्यार्थीहरुलाई उनीहरुको रुची अनुसार सही मार्गदर्शन दिइयो भने जे पनि गर्न सक्दा रहेछन् ।’

कार्यक्रममा विद्यालयका प्रिन्सिपल लक्ष्मीप्रसाद उप्रेती विद्यार्थीहरुले गरेको प्रगति देखेर भन्दै थिए– ‘यस वर्ष विद्यार्थीहरुले रोबर्ट बनाएर देखाए, अर्को वर्ष हेलिकप्टर बनाएर उडाउने छन् ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलकान्त गिरीको अध्यक्षता तथा प्याब्सन झापाका अध्यक्ष एलपी उप्रेतीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम भएको थियो ।
कार्यक्रममा कक्षा नर्सरीदेखि १२ सम्म अध्ययनरत् विद्यार्थीहरु मध्येबाट चार सयभन्दा बढी विद्यार्थीहरुले गीत, नृत्य, फेशन शो, लाइभ कन्सर्ट प्रस्तुत गरेका थिए । त्यस्तै स्थानीय भाषा, कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कक्षा ९ मा अध्ययनरत् रेश्मा राजवंशीले राजवंशी भाषा र संस्कृति तथा विद्यालयको गतिविधिबारे राजवंशी भाषामा मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा विद्यालयका संस्थापक मातापिता लोकनाथ चम्लागाई र डिकुरादेवी चम्लागाईले स्थापना गरेको कपिलमुनि–अजुदादेवी चम्लागाई स्मृति छात्रावृत्ति कोषबाट कक्षा ८ को परीक्षामा जिपिए ४ प्राप्त गर्न सफल जमुना फुयाललाई नगद पाँच हजारसहित पुरस्कृत गरिएको थियो ।
त्यस्तै २०७४ सालको एसईई परीक्षामा विद्यालयबाट उच्चतम् जिपिए ३.७० ल्याउन सफल साइषा थापालाई नगद १० हजारसहित पुरस्कृत गरिएको थियो भने ३.२५ भन्दा बढी जिपिए प्राप्त गर्ने मोहम्मद मुस्तफा, अनिषा घिमिरे, विपीका कार्की, सुमित्रा राजवंशी, प्रतिभा गिरी, अरुण पण्डित, भिष्म राजवंशीलाई जनही नगद पाँच हजारसहित पुरस्कृत गरिएको थियो ।
त्यसैगरी कक्षा ११ को राष्ट्रिय परीक्षा बोर्डको नतिजामा उत्कृष्ट अंक ल्याउने रोशनी बजगाई र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सविना खड्कालाई जनही १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो । सोही कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत् विपन्न समुदायका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको थियो ।
पोशाक प्राप्त गर्नेहरुमा गौरीशंकर माविकी मञ्जु अधिकारी, पशुपति आधारभूत विद्यालयकी दिक्षा खनाल र पञ्चमणि आधाभूत विद्यालयकी दिपा खनाल रहेको दिपजन बालक्लवकी अध्यक्ष मुना कँडेलले जानकारी दिइन् ।
कार्यक्रममा सामुदायिक विद्यालयमा लामो समयसम्म शिक्षण कार्य पूरा गरी सेवानिवृत्त भएका गौरीशंकर माविका पूर्व शिक्षक कृष्णप्रसाद भण्डारी र फूलबारी माविका पूर्व शिक्षक प्रभानन्द झालाई सम्मान गरिएको थियो भने विद्यालयका शिक्षक जीवनप्रसाद खरेललाई वर्ष उत्कृष्ट शिक्षक घोषित गर्दै पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा कपिलमुनि–अजुदादेवी चम्लागाई स्मृति छात्रवृत्ति कोषका संरक्षक तथा विद्यालयका संस्थापक माता–पिता लोकनाथ चम्लागाई र डिकुरादेवी चम्लागाईलाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा राजगढ स्रोतकेन्द्रका स्रोतव्यक्ति छविलाल बस्नेतले दिपजन अंग्रेजी मावि बाह्रदशी गाउँपालिकाको उत्कृष्ट विद्यालय भएको बताए ।
उनले बाह्रदशी गाउँपालिकामा गरिएको विज्ञान प्रदर्शनी, गायन प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, गाउँपालिका र प्याब्सनस्तरीय छात्र भलिबल प्रतियोगितामा विद्यालयले प्रथम स्थान हासिल गरेको, एसईई र कक्षा ८ को परीक्षामा प्रथम स्थान हासिल गरेर गाउँपालिकाकै उत्कृष्ट विद्यालय घोषित भएको बताए ।
कार्यक्रममा सम्मानित व्यक्ति गौरीशंकर माविका पूर्व शिक्षक कृष्णप्रसाद भण्डारीले निजी विद्यालयले सामुदायिक विद्यालयमा कार्यरत् शिक्षकहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गरे । त्यस्तै प्रमुख अतिथि प्याब्सन झापाका अध्यक्ष एलपी उप्रेतीले दिपजन अंग्रेजी मावि बाह्रदशी गाउँपालिकाकै उत्कृष्ट विद्यालय भएको बताए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल लक्ष्मीप्रसाद उप्रेतीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यार्थीहरुको पठनपाठनलाई विश्वव्यापीकरण गर्दै प्रोफेसशनल पार्टनसीप प्रोजेक्ट मार्पmत आफ्नो विद्यालयका विद्यार्थीहरु र विदेशी स्कुलका विद्यार्थीहरुबीच शैक्षिक गतिविधि आदान–प्रदान गर्दै अध्यापन गराइरहेको उनले बताए ।
उनले आगामी शैक्षिक सत्रमा स्मार्ट कक्षा, यातायात, भौतिक सुविधा थप गरिने तथा विद्यार्थीहरुका लागि दिवा खाजा समेत विद्यालयमा व्यवस्था गरिने बताए ।
कार्यक्रममा प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष गौरीमान फागो, प्याब्सन प्रदेश नं. १ का सदस्य डिआर सुवेदी, प्याब्सन झापाका सल्लाहकार अमृत बुढाथोकी, जिल्ला सदस्य खड्गनारायण राजवंशी, बाह्रदशी गाउँपालिकाका शिक्षा प्रमुख प्रकाश गुरुङ, बाह्रदशी गाउँपालिका–७ का वडाध्यक्ष मित्रराज भट्टराई, गौरीशंकर माविका प्राचार्य लेखनाथ कटुवाल, वडा स्वास्थ्य कार्यालयका इञ्चार्ज रामनारायण शर्मा, विद्यालयका संस्थापकहरु प्रेमप्रसाद चम्लागाईं, देवेन्द्रप्रसाद चम्लागाई, जमुनादेवी चम्लागाईं लगायतको आतिथ्य रहेको थियो ।
कक्षा १० मा अध्ययनरत् विद्यार्थी गरिमा कँडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक मनोहरि त्रिताल र विद्यार्थीहरु दिक्षा थापा र शर्मिला थापाले गरेका थिए ।

