शान्तिराम बस्नेत/ झापा ।
‘रक्तदान जीवनदान, नारीहरुलाई उच्च सम्मान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै सतासी ८ फाउन्डेशनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । झापाको शिवसताक्षी नगरपालिका १० स्थित माईधारमा नारी दिवसको अवसरमा शुक्रबार चार महिला सहित ३४ जनाले रक्तदान गरेका छन् ।
रगतको कमिलाई केही हदसम्म न्युनिकरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सतासी फाउन्डेशनका अध्यक्ष कृष्णचन्द्र सेलिङ्गले बताए । कार्यक्रममा माईधाम युवा समुह र कैलाश शिखर फाउन्डेशनको सहकार्य तथा नेपाल रेडक्रस सोसाईटी विर्तामोड शाखाको प्राविधिक सहयोग रहेको थियो ।
फाउन्डेशनका अध्यक्ष सेलिङ्गको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा वडा नम्बर–१० सदस्य हर्क सिगुको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा रेडरोज एकाडेमीका प्रिन्सिपल डिगम पराजुली, वडासदस्य भाष्कर खरेल, शिक्षक दुर्गोस योङहाङ, पदम कुँवर, सुर्य अधकारी, नेविसघ झापा निरोज दुलाल, कराते प्रशिक्षक जगन दुर्बासा कार्की लगायतले रक्तदान गरेका थिए ।
६२ पटकसम्म रक्तदान गरेका पत्रकार छविलाल दवाडीले रक्तदान जीवनदान भएको भन्दै सबैले रक्तदान गर्नु पर्ने बताए । कार्यक्रमको सञ्चालन पुष्प पौडेलले गरेका थिए ।