काठमाडौँ — दक्षिण कोरियाली कम्पनी मोट्रेक्सले नेपालमै ४ पाङ्ग्रे सवारी साधन उत्पादन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले नेपालमा एसेम्बलिङ उद्योग स्थापना गर्न उक्त कम्पनीलाई अनुमति दिएको छ ।
सन् २००१ मा स्थापना मोट्रेक्स कोरियामा स्थापित कम्पनी मानिन्छ । यो कम्पनीलाई बोर्ड बैठकले १० अर्ब ५४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत गरी नेपालमा एसेम्बलिङ प्लान्ट स्थापना गर्न अनुमति दिएको हो । उक्त विदेशी लगानी रकम प्रधानमन्त्री ओली नेतृत्वको सरकार बनेयताको सबैभन्दा ठूलो हो ।
‘अबको १८ महिनामा उद्योग स्थापना गरिसक्ने उसको योजना छ,’ बोर्डका एक अधिकारीले भने, ‘उद्योग स्थापनाको सुरुको वर्षमा २ हजार र पछि २० हजारवटा ४ पाङ्ग्रे सवारी साधन उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ।’ कार, ठूला सवारी साधन उत्पादन गर्ने उसको प्रस्ताव छ । ‘विद्युतीय सवारीलाई नै प्राथमिकता दिने उसको प्रतिबद्धता छ,’ ती अधिकारीले भने ।