Aamsanchar

हावाहुरीका कारण बारा र पर्सामा ३५ को मृत्यु, ५ सय बढी घाइते

Author Image
सोमवार, चैत १८, २०७५

काठमाण्डौ ।
असिना पानीसँगै आएको हावाहुरीका कारण बारा र पर्सामा ३५ जनाको मृत्यु भएको प्रदेश २ सरकारले जनाएको छ । रौतहटमा समेत गरी ५ सय बढी घाइते भएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बारामा ३४ र पर्सामा १ जनाको मृत्यु भएको बताउनुभयो । हिजो बेलुका आएको हावाहुरीका कारण बाराको दक्षिणी क्षेत्रमा बढी क्षति पुगेको छ । आधा दर्जन बढी गाउँका अधिकांश घरहरु भत्किएका छन् ।

पर्सामा पनि केही गाउँमा क्षति पुगेको छ । बारा र पर्साका विभिन्न अस्पतालमा ५ सय बढीको उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । कलैया अस्पतालमा मात्र २ सय बढीको उपचार भइरहेको छ ।

नेपाली सेना र प्रहरीले बिहानैबाट उद्दार जारी राखेका छन् । केन्द्र सरकारले समेत उद्धारका लागि टोली परिचालन गरेको जनाएको छ । उद्धारका लागि ठूलो संख्यामा नेपाली सेना खटिएका छन् । भोकभोगै रहेका पीडित र घाईतेका लागि स्थानीय संघसंस्था, सुरक्षानिकाय लगायतले चिया बिस्कुट सहितका खानेकुरा वितरण गरेका छन् ।

यसैबीच, प्रदेश २ सरकारले हावाहुरीमा परी मृत्यु भएका परिवारलाई तत्कालिन राहतस्वरुप ३ लाख रुपैंयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले घाईतेको उपचार तथा विस्थापित सबैको पुर्नवासको जिम्मा समेत सरकारले लिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।

अस्थायी मुकाम जनकपुरमा बसेको मन्त्रिपरिषद् बैठकले उद्धारका लागि तत्काल सक्रिय बन्न मातहतका निकायलाई निर्देशन समेत दिएको छ । रेडियो कान्तिपुरसँग कुरा गर्दै मुख्यमन्त्री लालबाबु राउतले विपतमा परेकाको तत्काल उद्धारका आपतकालिन उद्धार टोली गठन गरेको बताउनुभयो । प्रदेश २ सरकारले सहयोगका लागि संघीय सरकार, स्थानीय सरकार, दातृ निकाय, सुरक्षा बल सबैलाई आग्रह समेत गर्नुभयो । रेडियो कान्तिपुरबाट

Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर