बिर्तामोड, वैशाख २। स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणले तीब्रता पाएको छ । अहिले झापासहित देशभरका सबै स्थानीय तहले विकासका पूर्वाधारको निर्माणलाई तीव्रता दिएका छन् । कतिपय स्थानीय तहले विकास निर्माणको काम गुणस्तरीय गरे पनि केही स्थानीय तहले भने गुणस्तरीय काम गर्न नसक्दा आलोचना खेप्दै आएका छन् । बिर्तामोड नगरपालिका–५स्थित मुक्तिचोकको पश्चिमबाट उत्तरतर्फ कृष्ण हल जाने सडक र शनिश्चरे रोड निस्किने सडक कालोपत्रे गरेको चार महिना बित्न नपाउँदै भत्किन थालेपछि बिर्तामोडमै कमसल काम भएको भन्दै आलोचना शुरु भएको हो ।
उपभोक्तासँग साझेदारी गरेर कालोपत्रे गरेको सडक उक्किन थालेपछि नगरपालिकाकै आलोचना भएको हो । झण्डै ८२ लाख रुपैयाँ लागतमा कालोपत्रे गरिएको सडक मोटरसाइकल स्ट्याण्ड गर्दा समेत भासिने गरेको छ । नगरपालिकाले उपभोक्तासँग ६०–४० साझेदारीमा सडकमा कालोपत्रे गरेको थियो । तर, सो सडकमा अहिले मोटरसाइकल स्ट्याण्ड गर्न पनि सकिने अवस्था नरहेको स्थानीयले बताएका छन् । कालोपत्रे गरिएको सडकमा मोटरसाइकलको स्ट्याण्ड लाउँदा भासिएपछि अन्य सामग्रीको सहयोगमा मोटरसाइकल अड्याउनुपर्ने अवस्था छ । कतिपय मोटरसाइकल स्ट्याण्ड गरेको केही क्षणमै लड्ने गरेको स्थानीयले बताए ।
कालोपत्रे गरिएको सडक करिब ३ सय ५० मिटर रहेको छ । तर, सवै सडकमा यस्तै समस्या देखिएको छ । उपभोक्ता समितिको प्रत्यक्ष निगरानीमा सडक कालोपत्रे गरिए पनि समस्या आएको उपभोक्ता समितिका अध्यक्ष छत्रबहादुर श्रेष्ठले बताए । उनले भने – ‘काम गर्ने क्रममा केही त्रुटी भयो, अब पुनः मर्मतका लागि ठेकदारलाई भन्छौं ।’ सडक कालोपत्रे गर्न भीमचन्द्र भट्टराईले ठेक्का लिएको बताइन्छ ।
यता सडक कालोपत्रे गरेको चार महिना बित्न नपाउँदै उक्किएपछि के कारणले गर्दा यस्तो भयो भन्ने पूर्वाञ्चलकर्मीको प्रश्नमा ठेकेदार भट्टराईले आफूलाई प्राविधिक ज्ञान नभएको र ल्याब परीक्षणका लागि पठाउने तयारी भइरहेको बताए । बिगत ४० वर्षदेखि आफूले सडक कालोपत्रे गर्दै आएको र सडक कालोपत्रे गर्दा अन्य सडक कालोपत्रे गरेझै गरे पनि त्यहाँको सडक कमसल देखियो, म आफैं आश्चर्यमा परेको छु भन्दै उनले भने– ‘नैतिकताको आधारमा पुनः सो सडक मर्मत गर्छु ।
कानूनी हिसावले आफूले सडक निर्माण गरेर जिम्मा लगाएपनि नैतिकताले मैले पन्छिन मिल्दैन– भट्टराई भन्छन् – ‘समय अनुकूल मिलाएर सो सडकमा १० एमएमको कालोपत्रे गर्छु ।