पाकिस्तानको पञ्जाब र सिन्ध प्रान्तमा भीषण आँधीवर्षाबाट कम्तीमा २५ जनाको मृत्यु भएको छ। पश्चिमी हावाका कारण आएको भीषण आँधीहुरीबाट पाकिस्तानमा रूख र बिजुलीका खम्बा लडेका थिए। आँधीहुरीले ठूलो जनधनको नोक्सान भएको स्थानीय सरकारले जनाएका छन्।

समाचारपत्र डनका अनुसार देशका पश्चिमी, मध्य एवं पूर्वी क्षेत्रमा केही दिनदेखि वर्षा भइरहेको छ। यसबाट कैयौं ठाउँमा भूस्स्खलन र बाढी आएको छ। विभिन्न ठाउँमा सडक बिग्रिएका छन्। पञ्जाब प्रान्तमा आँधीबाट कैयौं भवन लडेका छन्। भवन भत्कँदा ९ जनाको मृत्यु भएको प्रान्तीय सरकारले जनाएको छ।

खैबर पख्तनूख्वा प्रान्तको चित्राल उपत्यकामा घरको छत खस्दा एक महिला र दुई पुरुषको ज्यान गएको छ। यसैगरी बलुचिस्तानमा एक बालकसमेत ९ जनाको बाढीले बगाउँदा मृत्यु भएको छ। बलुचिस्तानमा संकटकाल घोषणा गरिएको छ। एक्सप्रेस ट्रिब्यूनका अनुसार क्वेटा, ग्वादर, चगई, हरनाई, दुकी, जेवानी, जाफराबाद, कोहलु, सिबी, बरखान, चमन र बलूचिस्तान जिल्लामा बाढीले सडक बगाउँदा यातायात सम्पर्क विच्छेद भएको छ। उद्धारकर्ताका अनुसार कराचीमा आँधीबाट ४ जनाको ज्यान गएको छ। समुद्रीतटमा माछा मार्न गएका ४ जना माझी बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन्।
अफगानिस्तानमा पाँचको मृृत्यु

यसैगरी अफगानिस्तानको हेरातमा भारी वर्षापछि आएको बाढीबाट कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुका साथै ७ जना बेपत्ता भएका छन्। बाढीले पचासभन्दा बढी घर बगाएको बताइएको छ। काबुल नदीमा आएको बाढीमा परी एक व्यक्तिको मृत्यु भएको छ। सरकारले उक्त इलाकामा सजग रहन सूचना जारी गरेको थियो। विपत्तिको उद्धार कार्य जारी छ। एक सय परिवारलाई उद्धार गरी सुरक्षित स्थानका लगिएका प्रवक्ताले बताएका छन्। हालसम्म बाढीका कारण ४ हजार घर ध्वस्त भएका र ५ हजार घर क्षतिग्रस्त भएका बताइएको छ।

राजस्थानमा आँधीहुरीबाट ९ जनाको मृत्यु
भारतको राजस्थानमा आँधी र तुफानका कारण ९ जनाको मृत्यु भएको छ । मंगलबार साँझ आएको सो आँधीबाट ३० जना घाइते भएका छन् । मंगलबार साँझ राजस्थानमा ६० किमी प्रतिघण्टाको रफतारमा आँधी आएको न्यूज १८ इण्डिया अनलाइनले मौसमविद्हरुलाई उद्धृत गर्दै जनाएको छ ।
राजस्थानको सो हुरी अरेबियन समुन्द्र र बंगालको खाडीबाट विकास भएको बताइएको छ । भारतको नयाँ दिल्ली र गुरगाउँ, नोइडा लगायतका क्षेत्रमा हुरीको असर देखिएको बताइएको छ । यस्तै बिहार, झारखण्ड, उत्तर प्रदेश लगायतका क्षेत्रमा समेत त्यसको असर देखिएको थियो ।
मौसमविद् गंगा नगरकोटीले राजस्थानको असर नेपालमा पनि पर्न सक्ने बाह्रखरीसँगको कुराकानीमा बताइन् । उनले पश्चिमी वायुको प्रभावले नै राजस्थानमा त्यस्तो घटना भएको जनाउँदै पश्चिमी वायु नेपालको दक्षिण पश्चिम भागमा प्रवेश गरेको जनाइन् । उनले संघीय राजधानी काठमाडौंमा पनि दिउँसो १–२ बजे सम्ममा हुरी बतास आउन सक्ने उनको भनाइ थियो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशै भरी सामान्य देखि पूर्णबदली रही पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा चट्टयाङ तथा हुरी बताससहित हल्कादेखि मध्यम वर्षा र असिना पानीको सम्भावना रहेको छ ।
देशको तराईका स्थानहरुमा हुरी बतासको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भूभागहरुमा हिमपातको सम्भावना रहेको जनाइएको छ ।

