प्रदेश १ सरकार एतीवेला आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेको छ । अघिल्लो वर्षको भन्दा २५ प्रतिशत ठूलो आकारको बजेट ल्याउने योजनाका साथ सम्वद्ध अधिकारीहरु छलफलमा छन् ।

बजेटको तयारीका लागि प्रदेश योजना आयोगले प्रदेशको वस्तुस्थिति विवरण तयार गरिसकेको छ । त्यसकै आधारमा सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटको तयारी थालेको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता हरिहर पौडेलले जानकारी दिए ।

प्रदेश सरकारले चालु आवका लागि ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको बजेट ल्याएको थियो । प्रवक्ता पौडेलले भने, बजेटको तयारीको लागि शुक्रबारसम्ममा सिलिङ तय हुनेछ । त्यसपछि बजेट बाडफाँटको प्रक्रिया अगाडि बढ्छ ।
प्रदेश सरकारले लक्ष्यअनुरुप आन्तरिक राजस्व संकलन गर्न सफल भएकोले बजेटको आकार बढ्न सक्ने उनले बताए । मन्त्रालयका अनुसार चालु आवका लागि प्रदेश सरकारले ३ अर्ब ६६ करोड ८८ लाख ३३ हजार रुपैया राजश्व संकलन गर्ने अनुमान गरेको थियो । आर्थिक बर्ष सकिदासम्म यति रकम संचित कोषमा जम्मा हुने प्रदेश सरकारको विश्वास छ । आठ महिनाको अवधिमा त्यसको ७५ प्रतिशत राजस्व संकलन भइसकेको मन्त्रालयले जनाएको छ ।

संघीय सरकारले वित्तीय समानीकरण अनुदानतर्फ ८ अर्ब १६ करोड ३३ लाख र राजस्व बाडफाँटतर्फ १० अर्ब २७ करोड ९७ लाख रुपैयाँको सिलिङ तोकेको छ । त्यसमा समपुरक अनुदान र विशेष अनुदान पनि थप हुनेछ । प्रदेश सरकारले ४ अर्बजति आन्तरिक स्रोतको अनुमान गरेको उपाध्यक्ष प्याकुरेलले बताए । भौतिक पूर्वाधारमा सबैभन्दा बढी बजेट विनियोजन गरिनेछ ।
कृषि, उद्योग र पर्यटन प्रदेश समृद्धीको आधार’ भन्ने नारा अघि सारेको सरकारले नीतिगत रुपमा यी क्षेत्रलाई प्राथमिकता दिए पनि भौतिक पूर्वाधारमा बजेट बढी आउने योजना आयोगका उपाध्यक्ष प्याकुरेलको भनाइ छ ।
प्रदेश सरकारले यसपटक पनि महत्वाकांक्षी मानिने ठूला योजना ल्याउने छैन । पुराना आयोजनालाई भने निरन्तरता दिनेछ ।

