काठमाडौ

संघीय समाजवादी फोरम पार्टी र नयाँ शक्ति पार्टीबीचको पार्टी एकता सम्मानजनक नभएको भन्दै तत्कालीन नयाँ शक्तिका केही शीर्ष नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने तयारी गरेका छन्

पार्टी्भित्र परामर्श र छलफल विनै फोरमसग एकता गरेको भन्दै असन्तुष्ट बनेका सचिवालयका केही नेता नेकपामा प्रवेश गर्ने गरी छलफल अघि बढेको एक नेताले बताए । बुधबारमात्रै तत्कालीन नयाँ शक्तिकी केन्द्रीय कार्यकारीणी सदस्य सीमा विश्वकर्मा नेकपामा प्रवेश गरेकी थिइन् । पार्टी कार्यालय धुम्बाराहिमा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले नेता विश्वकर्मालाई प्रवेश गराएका थिए ।

ती नेताका अनुसार असन्तुष्टमध्ये पनि पूर्व माओवादी समूहका नेताहरु नेकपा प्रवेश गर्नेगरी छलफल अघि बढेको हो । ‘नया शक्तिको सचिवालयमा रहेका पूर्वमाओवादी समूहका केही शीर्ष नेता नेकपामा प्रवेश गर्ने गरी अध्यक्ष प्रचण्डसँगै संवाद भएको छ, उनले भने, ‘लामो समयदेखि राजनीतिमा समर्पित भएको काम गर्नुभएकै साथीहरु हुनुहुन्छ । नेकपामा जाँदा पनि त्यही अनुसारको सम्मान चाहियो । छलफल चलिरहेको छ, तर टुंगिएको छैन ।’

स्रोतका अनुसार पूर्वमन्त्री समेत रहेकी नेता कल्पना धमलाले यो समूहको नेतृत्व गरेकी छन् । प्रचण्डसँग संवादमा पनि नेता धमला नै छिन् बुधबार मात्रै सो पार्टीका असन्तुष्ट समुहले छुट्टै भेला समेत गरेका थिए । सो भेलामा पूर्व नयाँ शक्ति पार्टीका सचिवालय सदस्यहरु कल्पना धमला, भक्तबहादुर शाह, रामबहादुर बोहोरा, सोनामसिंह स्याङतान, ज्ञानेन्द्र कुमाल, देवेन्द्र पराजुली, विज्ञ परिषद् सदस्य मदन राई, लगायतका नेताहरु सहभागी थिए ।
नेता राईबाहेक अन्य नेता पूर्व माओवादीबाट नयाँ शक्तिमा गएका थिए । यीनै असन्तुष्ट पूर्वमाओवादी समूहका नेताहरु नेकपामा प्रवेश गर्ने गरी छलफल अगाडि बढेको हो । उनीहरु फोरमसगको पार्टी एकता प्रकृया नै गलत भएको निष्कर्ष निकाल्दै विकल्पको खोजीमा लागेका हुन् ।
्स्रोतका अनुसार यी नेताहरुले फोरम र नयाँ शक्ति मिलेर बनेको समाजवादी पार्टीको केन्द्रीय पदाधिकारी समितिमा नपरेको भन्दै असन्तुष्ट जनाएका छन् । समाजवादी पार्टीका एक नेताले भने, ‘उहाहरुको असन्तुष्टि अरु केही होइन, केन्द्रीय पदाधिकारी टिममा परेनौ भन्ने हो । सकभर उहाँहरुलाई समेट्ने गरेर छलफल अगाडि बढेको छ । हामी निरन्तर छलफलमै छौँ ।असन्तुष्ट नेताहरुले विहीबार अध्यक्ष डा बाबुराम भट्टराईलाई भेटेर ज्ञापनपत्र समेत बुझाउँदै छन् ।

