Aamsanchar

प्रहरीले हानेको गोली लागेर विप्लव कार्यकर्ता को मृत्यु

Author Image
बुधवार, जेठ ८, २०७६

भोजपुर,जेठ ८ ।

भोजपुर । प्रहरीको गोली लागेर पहिलोपटक विप्लवका कार्यकर्ता मारिएका छन् । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते विप्लव कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको हो ।

३२ वर्षीय घिमिरे षडानन्द नगरपालिका–२, कुदाककाउलेका हुन् । घिमिरेको तिघ्रामा गोली लागेको थियो ।भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले प्रारम्भिक उपचारपछि थप उपचारका लागि लगिँदै गर्दा उनको बाटैमा मृत्यु भएको बताए ।

भोजपुर नगरपालिकास्थित भैसीपंखाको आइतबारे भीर नजिकै खसेको पहिरोले बाटो अवरुद्ध भएपछि समयमा अस्पताल पुर्‍याउन नसकिएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरेको छ ।

तर, विप्लव समूहले भने प्रहरी दाबीको खण्डन गरेको छ । नेकपा सगरमाथा व्युरोका नेता शैलेसले प्रहरीसँग कुनै मुठभेड नभएको बताए । आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीले हत्या गरेको भन्दै उनले आक्रोस पोखे ।

‘प्रहरीले मुठभेडका क्रममा गोली लागेको भनेको छ । यो सरासर झूट कुरा हो’, नेकपा सगरमाथा व्युरोका नेता शैलेसले  भने, ‘मुठभेडका नाममा नियन्त्रणमा लिएर हत्या गरिएको हो ।

केही दिनदेखि विप्लवका हतियारधारी समूह भोजपुर, खोटाङ्ग र सोलुखुम्बुको सीमा क्षेत्र आसपास घुमिरहेको सूचनाका आधारमा जनपथ तथा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । गस्तीमा पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि जवाफी फायर गरेको प्रहरीको दाबी छ । प्रहरीले पेस्तोल, गोली, बायनाकुलर, प्रचारप्रसारका सामग्री समेत बरामद गरेको बताएको छ ।

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि यसका नेता तथा कार्यकर्ताहरुलाई नियन्त्रणमा लिँदै आएको छ । केही स्थानमा मुठभेडसमेत भएका छन् । तर, ज्यान नै गएको घटना भने यो पहिलो हो ।

Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर